
काठमाडौँ । अहिले कोरोना भाइरसको त्रास अत्यधिक छ । यो भयकंर त्रासदीको सिर्जना चाहिँ कोरोना भाइरसले उत्पन्न गरेको होइन । बरु, त्यसका विषयमा औपचारिक, अनौपचारिक सञ्चार माध्यम र सामाजिक सञ्जालहरूले गरेका प्रचारको भूमिका ठुलो छ ।
कोभिड-१९ ले वास्तवमा जति क्षति पुर्याउनेवाला छ त्यो भन्दा कयौँ गुणा बढी जनधनको क्षति हुने भन्दै गरिएका प्रक्षेपणका कारण मानिसहरू बेचैनमा छन् । सञ्चार माध्यमले तथ्यलाई समेत तोडमोड गरी पेस गर्दा मानिसहरूमा भ्रम छ । अनि त्यसैलाई पत्याएर डरसरि जीवन बाँच्न बाध्य छन्, लकडाउन भन्दै घरमा नै थुनिएका मानिसहरू।
किन यसरी सत्य झैँ गरी अफवाह फैलाईदैछ विश्वभर ? यो प्रश्नको जवाफ सानो मेहनत र अनुसन्धानले प्राप्त हुँदैन । त्यसैले यहाँ कसरी डर, त्रासको बिक्री हुँदैछ । आधिकारिक निकायहरूले दिएका तथ्यहरूलाई कुन रूपमा सनसनीपूर्ण ढगंले प्रसारित गरिँदै छ लगायतका विषयमा चर्चा गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणबारे लेखेको छ, “कोभिड १९ का प्रमुख लक्षणहरूमा ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु हो र अधिकांश (८० प्रतिशत) ले सामान्य अस्वस्थताको मात्र महसुस गर्छन् ।” कुरा स्पष्ट छ, कुनै विषालु सर्पले टोकेपछि फ्याट्ट मरी हालिन्छ की भनेर डराए जस्तो कोरोना लाग्ने बित्तिकै बाँचिँदैन की भनेर आत्तिनु पर्दैन ।
यही विषयलाई कतिपय मिडियाले यस्तो हेडलाइन बनाए, “डब्लूएचओले भन्यो– कोरोना सङ्क्रमितमा सामान्य अस्वस्थता देखिन्छ र दुई हप्तामा ठिक हुन्छ ।” तर, धेरै समाचार चाहिँ यस्ता बने, “अमेरिकी उच्च अधिकारीले भने – मौसमी रुघाले भन्दा कोरोना भाइरसले १० गुणा बढीको ज्यान लिने” ; “डब्लूएचओको चेतावनी– पहिलो चरणमा कोरोना सङ्क्रमण रोक्न नसकिए नेपालमा महामारी”; “कोरोना भाइरसबाट अमेरिकामा २ लाख जना मर्न सक्ने चेतावनी” ।
जबकि विश्व स्वास्थ्य सङ्गठनले आधिकारिकरुपमा दिएको आँकडा भने माथिका सनसनी फैलाउने शीर्षकसँग मेल खाँदैन । डब्लूएचओले पाँच अप्रिलका दिन समेत लेखेको छ–“कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको जम्मा सङ्ख्या ६५ हजार ६११, अमेरिकामा मर्नेको सङ्ख्या ८ हजार ५०३” । त्यसैगरि, “वार्षिकरुपमा रुघाखोकीबाट मर्नेको सङ्ख्या विश्वभर २ लाख ९१ हजार देखि ६ लाख ४६ हजार, अमेरिकामा १२ हजार देखि ६१ हजारसम्म” ।
यसले के देखाउँछ भने तीव्र गतिमा सङ्क्रमण फैलँदा अहिले अमेरिकामा ९ हजार मानिस मर्नु र विश्वभर तीन महिनामा ७० हजार मानिस मर्नु कुनै अचम्मको कुरा होइन । यदि यो वर्षभरि नै यही दरमा मानिस मर्ने हो भने पनि अमेरिकामा रुघाखोकीले मर्ने भन्दा कोरोनाले मर्ने कमै हुन्छन् । र, पुरै विश्वको हकमा पनि हुने कुरा यही हो । त्यसैले कोरोनाले यति र उति मरे भन्दै आत्तिनु जरुरी छैन ।
अझ महत्त्वपूर्ण कुरा त यो छ कि कोरोना रोगको उपचारमा मिल्दै गरेको सफलता चाहिँ सञ्चारमाध्यमले थाहै नपाए जस्तो देखिन्छ । सङ्क्रमित थपिएको र मृत्युको सङ्ख्या बढेको समाचार एकाबिहानै पस्किने हतारोमा सञ्चार माध्यमहरू देखिन्छन् । तर, निको भएर यति घर फर्किए भन्ने सँगै रहेको आँकडा भने सो बुलेटिनमा अटाउँदैन । यसले स्पष्ट पार्छ की सञ्चार माध्यम पनि अहिले त्रास फैलाउन नै उद्धत छन् । कसको कुन स्वार्थको लागि यसो गर्छन् त्यो फेरि पनि खोजीको विषय हो ।
हाम्रोमा मात्रै होइन विश्वभर यही प्रवृत्ति देखिन्छ । ठुला साना, सबै खाले सञ्चारमाध्यमका हेडलाइनहरू मानिसलाई सान्त्वना दिने, ढुक्कले घरमा बस्न दिने खालका छैनन् । सबै सञ्चार माध्यमका समाचार र सूचनाहरू हेर्दा लाग्छ विश्वभरकै मिडियालाई एउटा मात्र जिम्मेवारी दिइएको छ– त्रास फैलाउने, मानिसलाई आतकिंत पार्ने ।
कोरोना भाइरसको सन्त्रास फैलाएर, विश्वलाई नै लकडाउन गरेर कतै कुनै अर्कै खेल त यहाँ सुरु गरिएको छैन ? कुनै ‘ग्राण्ड डिजाइन’ अन्तर्गत त यो सब काम भइरहेको छैन ? आर्थिक मन्दीतर्फ तीव्र गतिमा दौडिरहेको विश्वलाई अर्कै एउटा विपत्तिमा हालेर नयाँ परिभाषा खोज्ने प्रयत्न त यो होइन ? यावत् प्रश्नको जवाफ उत्तर कोरोनाको कालखण्ड (पोस्ट कोरोना पिरियड) मा अवश्य पनि मिल्ला । अहिलेलाई यति मात्रै भन्न खोजिएको हो की अतिरञ्जित र सनसनीपूर्ण हेडलाइन हेरेर लकडाउनका नाममा घरभित्रै बन्दी बनाइएका हामी सर्वसाधारण चाहिँ ‘पेनीक’ नबनौँ ।
प्रतिक्रिया दिनुहोस