aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

समाचार सम्प्रेषणमा सकसः महासङ्घ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
समाचार सम्प्रेषणमा सकसः महासङ्घ

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । 

महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताएको छ । 

संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ । 

विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार सङ्कलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस