aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सडकमा चल्ने सवारीसाधनको प्रदूषणका स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
सडकमा चल्ने सवारीसाधनको प्रदूषणका स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या

काठमाडौं । राजधानीका सडकमा चल्ने अधिकांश सवारीसाधन प्रदूषण चेकजाँचका क्रममा फेल भएका छन् । सरकारका विभिन्न सरोकारवाला निकायले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा ती गाडी प्रदूषण मापनमा फेल भएको पाइएको हो ।

गत २१ चैतबाट सुरु भएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण र चेकजाँच कार्ययोजनाअन्तर्गत यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु र ट्राफिक प्रहरी महाशाखाले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण मापन गर्दै आइरहेका छन् । उपत्यकाका आधाभन्दा बढी यातायातका साधन प्रदूषण मापनमा फेल भएपछि त्यसले सर्वसाधरणको स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या पारिरहेको चिकित्सकहरू बताउँछन् ।

ट्राफिक प्रहरी महाशाखाबाट प्राप्त तथ्यांकअनुसार गत २१ चैतदेखि ३ जेठसम्म २ हजार ७५ वटा सवारीसाधनमा प्रदूषणको मात्रा जाँच गर्दा १ हजार १२७ वटा सवारीसाधन फेल भएका छन् । यी सबै सवारी दुई पांग्रेबाहेकका हुन् । ट्राफिक प्रहरीले प्रदूषण जाँच गर्दा डिजेलबाट चल्ने र पेट्रोलबाट चल्ने सवारीसाधन छुट्याएर चेक जाँच गर्दै आएको छ ।

यसबीचमा डिजेलबाट चल्ने ९९९ सवारीसाधनको चेकजाँच गर्दा तीमध्ये ६१८ वटा प्रदूषण जाँचमा फेल भएका छन् । त्यस्तै, पेट्रोलबाट चल्ने १ हजार ७६ सवारीसाधनको प्रदूषण चेकजाँच गर्दा ५०९ सवारीसाधन फेल भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिए । यो समाचार महेश्वर गौतमले लेखेका हुन् ।

प्रदूषण चेक जाँचका क्रममा डिजेलबाट चल्ने सवारीसाधनले ६५ स्मोक डेनसिटीभन्दा माथिको अंक देखाए त्यसलाई फेल मानिने र पेट्रोलबाट चल्ने सवारीले कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमभन्दा माथि भए त्यसलाई फेल मानिने गरेको प्रदूषण जाँचमा खटिएका ट्राफिक प्रहरी निरीक्षक अनन्त नेपालीले जानकारी दिए ।

हाल सो किसिमको प्रदूषण मापन गर्ने मेसिन यातायात व्यवस्था विभागसँग मात्रै छ । ट्राफिक प्रहरीले विभागसँग मिलेर नै चेकजाँचमा सघाउँदै आएको छ । राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस