aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

लकडाउन कै बीच बझाङमा भव्य मेला !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
लकडाउन कै बीच बझाङमा भव्य मेला !

बझाङ । अहिले मुलुकमा कोरोनाको जोखिम सर्वाधिक भएको क्षेत्र हो, सुदूरपश्चिम प्रदेश । तर, त्यहीं लापरवाहीको पराकाष्ट रहेको देखिएको छ । पुरै देश लकडाउन गरिए पनि बझाङमा भने भव्य रुपमा मेला सम्पन्न भएपछी सुदूरपश्चिममा  कोरोना संक्रमणको त्रास  थप बढेको हो ।

छबिस पाथिभारा गाँउपालिका वडा न. ३ को बान्नीचौरमा चैत २४ गते चैतली मेला सम्पन्न भएको हो । त्यहाँ हजारौं मानिसको सहभागिता रहेको थियो । प्रत्येक वर्षको चैत शुक्ल त्रयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यो वर्ष पनि पूर्ववत भब्य रुपमा मनाइएको हो।

सरकारले चैत्र ११ गतेदेखि शुरु गरेको लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याएको छ । यो बिचमा सभा सम्मेलन, अनाआवश्यक भिडभाड, मेला भोजको आयोजना  गर्न रोक लगाएको भए पनि बान्नी मेला सम्पन्न भएको हो । 

स्थानीय सरकारले मेला नमनाउने र लकडाउनको पूर्ण पालना गर्ने भन्ने निर्णय गरेको भए पनि निर्णयको बेवास्ता गर्दै मेला सम्पन्न भएको छबिस पाथिभारा गाउँपालिकाले जनाएको छ । 

परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भै महिषासुरको वध गरेको खुशियालीमा बान्नीको चैतली मेला लाग्ने गरेको छ । 

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत औंसीका दिन काटेको लिङ्गोलाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा डुलाउने गरिन्छ ।

पछी सो लिङ्गोलाई बान्नी मष्टाको मन्दिरमा चढाइन्छ । यस्तै मेलामा राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र माथिल्लो  छविसका बासिन्दाबीच भकुण्डो खेल्ने प्रचलन रहेको छ । 

स्थानीयबासीका अनुसार यो मेला निकै नै महत्वपूर्ण हुन्छ । यही मेला भर्नका लागी भारतका विभिन्न ठाउँमा गएका स्थानीयहरू घर फर्किने गर्छन् । यो वर्ष पनि मेलाका लागी भारतका विभिन्न सहरबाट धेरै मानिसहरु घर फर्किएकाले त्यहाँ जोखिम थपिएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने मानिसहरु सो मेलामा गएको स्थानीय नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस