
काठमाडौं । कोरोना संक्रमण नपुगेको मुलुकको सूचीमा रहेको उत्तर कोरियाले पनि सम्भावित ५ सय जनालाई क्वारेन्टाइनमा राखेको छ । अहिले सम्म त्यहाँ कुनै व्यक्तिमा संक्रमणको भने पुष्टि भएको छैन ।
विश्व स्वास्थ्य सङ्गठनलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले उत्तर कोरियामा ५ सय जना भन्दा बढी मानिस क्वारेन्टाइनमा रहेको उल्लेख गरेको छ । डब्लुएचओले उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयबाट आफूलाई साप्ताहिक रूपमा रिपोर्ट प्राप्त भईरहेका जनाउँदै त्यसकै आधारमा त्यहाँ मानिसहरू क्वारेन्टाइनमा रहेका जानकारी दिएको हो ।
स्मरण रहोस्, चीनसँग सिमाना जोडिएको र नजिकको सम्बन्ध रहेको उत्तर कोरियामा हालसम्म कोही पनि संक्रमित नरहेको भन्ने कुरालाई विश्व समुदायले विश्वास गरिरहेको छैन । बाह्य विश्वसँग लगभग पुर्णरुपमा सम्बन्ध विच्छेदको अवस्थामा रहेको उत्तर कोरियाबारे विभिन्न अनुमान र अफवाहबारे सार्वजनिक भईरहने गर्छ ।
प्रतिक्रिया दिनुहोस