
बेलायत । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट तीन जना नेपालीको मृत्यु भएको खबर छ । समाचारमा जनाइए अनुसार मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत पुगेका वृद्ध हुन्।
मृत्यु हुनेमा एक पूर्व गोर्खा चेतप्रसाद गुरुङको हुन् । नेपालमा पर्वत पैंयू घर भएका ५९ वर्षीय गुरुङ मधुमेहका रोगी थिए। एक साता अघि लण्डनको नर्थविक पार्क अस्पतालमा भर्ना भएका उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो।
यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको जनाइएको छ। केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो। उनलाई श्वासप्रश्वासमा गाह्रो भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो।
त्यसैगरी नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। परिवार भेट्न बेलायत आएका अन्दाजी ७६ वर्षका वृद्धको कोरोनाकै कारणबाट मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको समाचारमा छ। तर परिवारको अनुरोध भन्दै उनको परिचय खुलाइएको छैन।
प्रतिक्रिया दिनुहोस