
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनाको अन्तिमसम्म स्थायी लेखा नम्बर लिनेको संस्था ३२ लाख ७७ हजार ५ सय ७२ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म स्थायी लेखा नम्बर लिनेको संख्या जम्मा २१ लाख ७१ हजार ५ सय २४ मात्रै थियो । चालु आर्थिक वर्षको यो अवधिमा प्यान नम्बर लिनेको संख्या करिब ५१ प्रतिशतले वृद्धि भएको छ । सरकारले चालु आर्थिक वर्षबाट सबै व्यक्ति तथा व्यवसायले करको दायरामा आएर अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था गरेको छ ।
यस वर्ष १ लाख ६३ हजार ३१ व्यवसायीले नयाँ व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिएका छन् भने ९ लाख १९ हजार २ सय ६५ रोजगार व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) थपिएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदवहादुर कुँवरले बताए ।
आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो । यस नीति अनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनु पर्ने हुन्छ । सो कारण यसको कार्यान्वयन उत्साहजनक देखिएको हो ।
चालु आर्थिक वर्षमा नयाँ करदातामध्य मूल्य अभिवृद्धि करतर्फ ४१ हजार ४ सय ७७ करदाता थपिएका छन् भने अन्तःशुल्कतर्फ २० हजार एक २७ जना नयाँ करदाताले स्थायी लेखा नम्बर लिएका छन् । सो अवधिमा करकट्टी गर्ने प्रयोजनले ३ हजार ७ सय ७२ निकायले नयाँ प्यान लिएका छन् ।
के हो स्थायी लेखा नम्बर ?
स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो ९ अकंको हुन्छ । व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिमार्जन भएपनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत प्यानमा समावेश गरिएको हुन्छ ।
उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले समेत आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बिल–बिजक, खाता, कागजात तथा आय विवरणजस्ता करसम्बन्धी सम्पूर्ण विवरणका लागि प्यान अनिवार्य गरिएको छ । व्यक्ति र कम्पनीले फरकफरक प्यान लिनुपर्छ । अहिले आफूले गर्ने कारोबार, बिल–बिजक, खाता, आय–विवरण, बैंकिङ कागजात तथा करसम्बन्धी सम्पूर्ण काम गर्दा प्यान अनिवार्य गरिएको छ ।
प्रतिक्रिया दिनुहोस