
काठमाडौं । त्रिशक्ति क्लबले तारकेश्वर नगरपालिका वडा–८ जीतपुरफेँदीमा अवस्थित मातृ नेपाल अपाङ्ग संस्थालाइ राहत उपलब्ध गराएको छ । पिताम्बर मुरारका, सुदिप समद्दार तथा अन्य दाताहरूको सहयोगमा त्रिशक्ति क्लब परिवारले करिब ५० जनालाई २० दिनलाई पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।
कोरोना भाइरसको यो महामारीमा उक्त संस्थामा रहेका बालबालिकालाई दैनिक खाद्यान्न अभाव हुन लागेको क्लबले जानकारी पाएसँगै सो सहयोग उपलब्ध गराएको हो । दाताहरूको सहयोगमा बालगृहमा बसोबास गर्दै आएका बालबालिकालाई कुनै अप्ठ्यारो परिस्थिति नआओस् भन्नका लागि उक्त राहत उपलब्ध गराइएको त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले बताए ।
‘हामीले दाताहरूलाई सहयोग गर्न अनुरोध गयौं,’ उनले भने ‘उहाँहरूको सहयोगमा बालगृहका रहेका बालबालिकालाई कम्तीमा २० दिनलाई पुग्ने खाद्यान्न उपलब्ध गराएका हौं ।’ गत आइतबार क्लबले काठमाडौं महानगरपालिका वडा नंं– ५ मा दैनिक ज्याला मजदुरी गर्ने १ सय १५ परिवारलाई करिब १० दिनलाई पुग्ने खाद्यान्न राहत स्वरुप वितरण गरेको थियो । वडाले राहत वितरण गर्न छुटाएका अति विपन्न परिवारको पहिचान गरेर क्लबले राहत वितरण गरेको हो ।
‘क्लबले अति निम्न वर्गहरूको पहिचान गरी राहत वितरण गरेको हो,’ अध्यक्ष खड्गीले भने ‘बाल गृहबाट बालबालिकालाई खुवाउने खाद्यान्न सकिएको गुनासो आएपछि क्लबले उक्त स्थानमा राहत लिएर पुगेको हो । अभिभावक गुमाएका ५० जनाबालबालिकालाई उक्त संस्थाले संरक्षण गर्दै आएको छ । क्लबले यस अघि पनि विभिन्न समयमा उक्त बालगृहलाई सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस