
चुनावी प्रचारको अवधि सकिएर मतदानका लागि मौन अवधि सुरू भयो भने प्रायस् उम्मेदवार सार्वजनिक रूपमा मौन नै हुन्छन् तर गोप्य रूपमा मतदातालाई आफ्नो पक्षमा पार्न प्रयत्नरत हुन्छन्। तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने सार्वजनिक रूपमै अप्रत्यक्ष तरिकाले अन्तिम समयसम्म चुनावी प्रचार गरिरहे।
गत अप्रिल ११ देखि सुरू भएको भारतीय लोक सभा चुनावको अन्तिम चरणको मतदान आइतबार हुँदैछ। जसमध्ये मोदी उम्मेद्वार रहेको उत्तरप्रदेशको वनारस पनि एक क्षेत्र हो। चुनावी प्रचारको समय शुक्रबार सकियो। तर मोदीले अर्को दिन अर्कै तरिकाले चुनावी प्रचार गरे।
मोदीको भारतीय जनता पार्टी हिन्दूत्वको नारा लिएर राजनीति गरिरहेको छ। गुजरातका मोदी आफैं पनि हिन्दूहरूको धार्मिक तिर्थस्थल उत्तर प्रदेशको बनारसबाट चुनाव लडेका छन्। तिनै हिन्दू मतदाताको ध्यान तान्न मोदी शनिबार हिन्दुहरूका चार धाममध्येको एक केदारनाथ पुगे। उनले केदारनाथमा प्रधानमन्त्रीको रूपमा त्यहाँ भइरहेको पुनर्निर्माणको निरीक्षण गरे अनि केहीबेरमा प्रधानमन्त्रीबाट तपस्यी बने। पहेँलो सल ओढेर उनी ध्यान गर्ने भन्दै ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र पसे।
प्रायस् ध्यान एकान्तमा गरिन्छ र बाँकी भौतिक दुनियाँबाट आफूलाई विच्छेद गर्ने प्रयत्न गरिन्छ। तर मोदीको ध्यान भने फरक थियो। उनी गुफाभित्र पस्नासाथ ध्यान गरिरहेको तस्बिर सञ्चारमाध्यममा छाइसकेको थियो। त्यसपछि उनको ध्यान समाचारको शीर्षक र सामाजिक सञ्जालमा चर्चापरिचर्चाको विषय बन्यो। उनको यो शैलीलाई कतिपयले हिन्दू मतदातालाई प्रभाव पार्न गरिएको प्रचारको एक हिस्सा ठानेका छन्।
मोदी कुनै सामान्य गुफामा ध्यान बसेका होइनन्। समाचारपत्र टाइम्स अफ इन्डियाका अनुसार उक्त गुफामा ध्यान गर्ने मोदी पहिलो व्यक्ति हुन्। मोदीको ध्यानका लागि गुफामा व्यापक प्रबन्ध गरिएको थियो। सिसिटिभी जडान गरिएको थियो। उक्त सिसिटिभीका दृश्यलाई बाहिर बसेका सुरक्षाकर्मी निरन्तर अवलोकन गरेका थिए।
गुफाभित्र ओछ्यानसहितको एउटा कोठाको व्यवस्था छ। सोही कोठामा अट्याच बाथरूम पनि छ। सँगै ध्यान गर्न खाली जमिन छ भने कोठाको झ्यालबाट बाहिरको सुन्दर दृश्य देखिन्छ।
मोदीले गुफाभित्र रातभरि ध्यानमात्र गरे कि निदाए भन्ने खुलाइएको छैन।
‘म भगवानसँग कहिले पनि केही माग्दिनँ, म यहाँ शान्ति, प्रार्थना र ध्यानका लागि आएको हुँ,’ आइतबार बिहान मोदीले सञ्चारकर्मीसँग भने।
उनी आइतबार उत्तराखण्डमै पर्ने अर्को धाम बद्रीनाथ जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको यो तिर्थाटनलाई निजी भ्रमण भनिएको छ।
मोदी उम्मेदवार रहेको बनारसलगायत ५९ सिटमा आज लोकसभाका लागि मतदान हुँदैछ। आज हुने सातौं चरणको मतदानसँगै अप्रिल ११मा सुरू भएको भारतीय लोकसभाको मतदान प्रक्रिया सकिनेछ। भारतीय निर्वाचन आयोगले आगामी बिहीबार लोकसभा चुनावको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस