
संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ।
शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वभर ९५ हजार ६ सय ९० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १६ लाख ३ हजार ४३७ पुगेको छ। गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ७२ सय ३१ जनाको मृयु भएको वल्र्डओमिटरले जनाएको छ।
बिहीबार सबैभन्दा धेरै अमेरिकामा १९ सयको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १६ हजार ६ सय ९१ र संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगेको छ। बिहीबार एकैदिन ८४ हजार ९ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म ३ लाख ५६ हजार ४४० जना उपचारपछि निको भएका छन्।
त्यसैगरी, फ्रान्समा हिजो १३ सय ४१ जनाको मृत्यु भएको छ भने युकेमा ८८१, स्पेनमा ६५५, इटालीमा ६१०, जर्मनीमा २५८, बेल्जियममा २८३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस