aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
अटो व्यवसायी

‘इकोसिष्टम’ टुट्योः व्यवसाय कहाँबाट शुरु गर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
‘इकोसिष्टम’ टुट्योः व्यवसाय कहाँबाट शुरु गर्ने ?

काठमाडौं । कोरोना भाइरस महामारीका कारण ‘इकोसिष्टम’ टुटेपछि कहाँबाट व्यवसाय पुनः सञ्चालन गर्ने अन्योलमा अटो व्यवसायी परेका छन् । एकतिर बैंकको ब्याज अर्कोतिर कर्मचारीको तलब भत्ता । ब्याज कसरी तिर्ने र तलब कसरी खुवाउने भन्ने चिन्तामा व्यवसायीहरू डुबेका छन् ।अहिले व्यवसायी र ग्राहकबीच सम्बन्ध टुटेको छ ।

इकोसिष्टम नै टुटेको यो अवस्थामा सरकारले व्यवसायलाई जीवन्त बनाउन मध्यकालीन र दीर्घकालीन राहतको प्याकेज दिनु पर्ने लक्ष्मी हुण्डाई प्रालिका प्रमुख अञ्जन श्रेष्ठले बताए । सरकारले अटो क्षेत्रलाई जीवन्त राख्न तथा पहिलाकै अवस्थामा फर्काउन छोटो अवधिको राहत प्याकेजले मात्र नपुग्ने भन्दै व्यवसायीको समस्याको सम्बोधन र समाधान दुबै गर्नुपर्ने माग राखे ।  

उनले भने ‘नगद प्रवाह ठ्याक्कै रोकिएको छ ।’ कहाँबाट व्यवसाय शुरु गर्ने हामी अन्योलमा छौं । अटोमोबाइल इन्डष्ट्रिज तुरुन्तै सामान्य अवस्थामा फर्कन सक्ने अवस्थामा छैन । तत्कालै यो व्यवसायमा केही हुन पनि सक्दैन, किनकी यो अवधिमा सबैको आम्दानी ठप्प भएको छ,’ केही महिनापछि भने १० देखि २० प्रतिशतसम्म बजार विस्तार होला भन्ने हो । अहिले त हामी शून्य अवस्थामा छौ ।’ यस्तो अवस्थामा कर्मचारीको तलब भत्ता र कार्यालय सञ्चालन खर्च जुटाउन पनि हामी सक्ने अवस्थामा छैनौँ ।’ नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले लकडाउनको अवधिभरमा कर्मचारीको तलब समेत दिन नसक्ने अवस्थामा अटो व्यवसायी पुगेको बताए ।

सरकारले लकडाउनको समय बढाउने निश्चित जस्तै गरेको छ । जेष्ठसम्म यस्तै स्थिति रही रह्यो भने कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा अटोमोबाइल क्षेत्र पुग्ने अध्यक्ष दुलालले दुखेसो पोखे । वैशाख १५ गतेसम्म सबै अटोमोबाइल क्षेत्रका व्यावसायीहरू ‘पर्ख र हेर’ को अवस्थामा छन्,’ उनले भने ‘सरकारले न्यूनतम ब्याजको भाका र ऋणको किस्ता तिर्ने अवधि लम्बाएर मात्रै पुग्दैन, यो अवस्थाबाट बाहिर निष्कन हामीलाई ठूलै राहत प्याकेज पनि दिनुपर्छ ।’

अधिकांश अटो क्षेत्रको व्यापार भारतसँग सम्बन्धीत भएकाले भारतमा कस्तो योजना वा रणनीति बन्छ त्यो अनुसार नेपालमा पनि योजना बनाउने तयारीमा रहेको टाटा मोटरको नेपालको आधिकारी विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ बताउँछन् । उनले भने, 'अटोमोबाइल क्षेत्र नेपालको आफ्नो उत्पादन भन्दा पनि अन्य देशमा उत्पादन हुने भएकाले हाम्रा मात्र योजनाले यो क्षेत्रको तयारी गर्न पुग्दै न त्यसैले यो क्षेत्रका परामर्शदाताहरुको सल्लाह अनुसार हामीले पनि काम गर्न पर्ने हुन्छ ।' नेपालका अटोमोबाइल क्षेत्र धेरै जसो भारतसँग सम्बन्धित उत्पादन भएकाले भारतमा कस्तो योजना बन्छ त्यसले पनि नेपालमा असर पर्ने श्रेष्ठ बताउछन् । 

सीजी मोटोकर्प तथा सीजी होल्डिङ्स्का कार्यकारी निर्देशक करण चौधरीले लकडाउनको यो अवधिमा गाडी बिक्री गर्ने कम्पनीका मालिक र कर्मचारी दुबै मर्कामा परेको बताए् । उनले आर्थिकन्युजसँग कुरा गर्दै भने ‘हामीले गाडी बिक्री भए न तलब खुवाउने हो, गाडी नै बिक्री नभएपछि कसरी तलब खुवाउने, सरकारले हामीलाई केही राहत दिनु पर्छ ।’ नत्र हामी माथि उस्कन सक्दैनौ ।’

सरकारले चैत महिनाको तलव दिन आग्रह गरेको छ । यो महिनामा भने हामी तलव दिन्छौं ।’ अब अवस्था हेरेर निर्णय लिनुपर्ने हुन्छ,’ उनले भने ‘प्राय सबै देशमा ठूला तथा साना सबै व्यवसायीलाई सरकारले राहत दिइरहेको छ,’ हामीलाई पनि त्यस्तै राहत नदिए हामी थला पर्न सक्छौं ।’ हामी ट्रेडिङ व्यवसाय गर्ने कम्पनी भएकोले यस्तो अवस्थामा कुनै व्यापार हुने भएन, फोनको आधारमा सर्भिस दिएर बसिरहेको उनले बताए ।

यी सबै अवस्थाबाट बाहिर निस्कन अटो व्यवसायीले ऋणको भाखा एक वर्ष बनाउन माग गरेको छन् । यो शुन्य समयको बेलामा बैंकको ऋणको किस्ता बुझाउने समय कम्तीमा ६ महिना गर्न र ऋणको किस्ता एक वर्षसम्म लम्ब्याउन माग समेत व्यवसायीले सरकारलाई आग्रह गरेका छन्  । लकडाउका कारण भन्सार नाकामा करिब ७/८ सय गाडीहरू रोकिएका छन् । उक्त गाडीहरूको भन्सार क्लियर गर्ने समय असारमसान्त सम्म लम्ब्याउन समेत उनीहरूले सरकारसँग अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस