aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने

दक्षिण कोरिया सरकारले काेरियामा रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ ।

कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ।

आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो । यसरी भिसा थपिएको यो दोस्रोपटक हो ।

कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए ।

यो निर्णयसँगै  फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् । यद्यपि  इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् । हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ ।

उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ । भिसा थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट http://www.hikorea.go.kr/ वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइको छ ।

प्रतिक्रिया दिनुहोस