aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्व अर्थ व्यवस्थामा कोविड-१९ को सम्भावित प्रभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
विश्व अर्थ व्यवस्थामा कोविड-१९ को सम्भावित प्रभाव

अलिकति सैद्धान्तिक कुरा गरौँ। सिद्धान्ततः अहिलेको नव उदारवादी विश्व संरचनामा कोविड-१९ भाइरसको प्रभावलाई भिन्न ढङ्गले हेर्नुपर्ने हुन्छ । यसले ल्याउने परिवर्तनबारे अनेकौँ आकलन भइरहँदा राजनीतिक अर्थशास्त्रीय दृष्टिले यसलाई विश्लेषण गर्नु पर्छ।
कन्स्पेरेसी थ्यौरीका आधारमा कतै यो भाइरस जैविक हतियार पो हो कि पनि भन्ने गरिएको छ । यो चीनबाट सुरु भएको र अहिले अमेरिकामा धेरै असर पारेकाले यस्ता अनुमानले ठाउँ पाइरहेका छन् । अब यसले पुँजीवादलाई नै सङ्कटमा पारेको भनेर आकलन भइरहँदा यस्ता विरोधाभासपूर्ण धारणाहरू छलफलमा आउनु स्वाभाविक नै हो।

यो संकटले ल्याएका नयाँ प्रवृत्तिले के कस्ता कुरा र कुन विचारधारालाई मदत गर्छ भन्ने विश्लेषण गरेर मात्र वस्तुनिष्ठ धारणा बनाउन सकिन्छ। विश्व राजनीतिक अर्थव्यवस्थामा दुई विपरीत विचारधारा बिच ऐतिहासिक सङ्घर्ष जारी छ । व्यक्तिवादिता (individualism) र सामूहिकता (collectivism) बिचको यो द्वन्दका धेरै आयामहरू छन् ।जीवन, राजनीति र अध्यात्मसँग सम्बन्धित पूर्वीय र पश्चिमी मतहरूमा पनि व्यक्तिवादिता विरुद्ध सामूहिकताको द्वन्द्व विभिन्न आयाममा देख्न सकिन्छ।

जस्तो कि पूर्वीय दर्शनले राज्य सञ्चालन र कर्म गर्दा उदात्त भावनाले ‘सर्वजन हिताय’को सामूहिक भावनाले काम गर्न प्रेरित गर्छ । जीवनको रहस्य बुझेर मोक्ष प्राप्त गर्न आत्म चिन्तन गर्दै सबै त्याग गर्न र अन्तिममा आत्म एवं प्राप्त ज्ञान समेतलाई त्याग गरी परमब्रह्ममा लीन हुन व्यक्तिवादी बाटो देखाउँछ।

तर, पश्चिमाहरूको पुँजी विषयक दर्शन विशेष गरी एडम स्मिथले प्रतिपादन गरेको त्याग होइन व्यक्तिवादी ढङ्गले प्रतिस्पर्धा गरी सङ्ग्रह गर्ने नै धनी हुने र बजारमा उसैको एकाधिकार हुने सिदान्तद्वारा निर्देशित छ । यो भनेको बजारले नै मूल्य तय गर्ने बजार अर्थशास्त्रको सिद्धान्त हो। निजत्वलाई नै यसले प्रश्रय दिने हो।

एडम स्मिथ प्रबर्दित बजारिया औद्योगिक पुँजीवाद र यसबाट देखिएका विकृतिलाई अन्त्य गर्न अर्को विचारधारा आयो । उपलब्ध श्रोतको समुचित वितरण गर्न र श्रमिक वर्गको उत्थान गर्न श्रमिकले श्रमको उचित मूल्य पाउनुपर्ने मान्यता यसको रह्यो । यसका लागि एकजुट भई पुँजीपति विरुद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति गर्न सुझाव दिएका मार्क्सको विचार सामूहिकतामा आधारित विचार हो।

तर उनका विचारमा पनि केही विरोधाभास मौजुद छन् : जस्तो कि श्रमको शोषण विरुद्ध र श्रमको उचित मूल्य प्राप्त गर्न गोलबद्ध भई लडेर साम्यवादतिर अग्रसर हुँदा त्यही श्रमिकले आफ्नो कामको उचित मूल्य प्राप्त गर्ने सन्दर्भमा स्पष्टता छैन । कम्युनिस्ट सरकारबाट चाहिँ त्यो नपाइने र काम गर्दा उत्कृष्टतामा आधारित भई गर्ने र पारिश्रमिक चाहिँ न्यूनतम आवश्यकता बमोजिम मात्र पाइने मार्क्सीय सिफारिस रहेको छ।

सम्पत्ति व्यक्तिगत राख्न वर्जित हुनाले उत्कृष्ट छ भन्दैमा धेरै कमाउने र व्यक्तिगत रूपमा व्यक्तित्व विकासको अवसर कम्युनिस्ट शासनमा हुँदैन। त्यसैले यो चेतनशील व्यक्तिलाई सह्य हुँदैन।

उदाहरणका लागि अहिले चिकित्सकहरूले उपचार गर्न सकेसम्म जाने जति र बाँचेसम्म काम गर्नुपर्ने र त्यसो भन्दैमा विशेष पारिश्रमिक होइन कि खाना, छाना र नानाका लागि चाहिने पारिश्रमिक मात्र चिकित्सकलाई दिने भन्ने खाँटी कम्युनिस्ट सैद्धान्तिक नीति हो। त्यसैले चीनमा उपचार गर्दा गर्दै केही डाक्टर मरेका हुन्। फेरि शासकको हकमा देवत्वकरण गर्ने र सर्वहाराको अधिनायकत्वको नाममा व्यक्तिवादिता हाबी गर्ने कम्युनिस्ट व्यवहार आफैँमा समस्याग्रस्त छ।

प्रथम विश्वयुद्ध पछि गम्भीर आर्थिक मन्दीको चपेटामा परेको युरोपलाई उकास्न किन्सले व्यक्तिवादिता र सामूहिकतालाई सामञ्जस्य गरेर मिश्रित अर्थ व्यवस्थाको सिद्धान्त सिफारिस गरे पनि दोस्रो विश्वयुद्ध पछि हाल एटलान्टिक सन्धिका आधारमा बिजारोपित विचारलाई ब्रिटेन उड्समा आयोजित आर्थिक सम्मेलनबाट पारित गरी स्थापित तीन वटा वैश्विक आर्थिक सङ्गठनले विश्वभरि आर्थिक कानुन निर्माण र परिपालना गराइरहेका छन्। ती विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार सङ्गठन हुन्।

अब कोरोना महामारीले यो परिवेशमा सन् १९८० पछि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गेरेट थ्याचरको मुख्य स्वार्थबाट प्रेरित गरी अघि बढाएको नव उदारवादी विश्वव्यापीकरणलाई कसरी प्रभाव पर्ला भनेर हेरौँ।

हालको विश्व संरचनामा पुँजीवादी वा सामूहिकतामा आधारित विचारधारा जे भनेपनि विश्व अर्थव्यवस्थाका त्रिमूर्ति सङ्गठन र राष्ट्रसङ्घबाट बाहिर रहने अवस्था छैन। विश्वव्यापीकरण जसलाई विश्व व्यापारीकरण भन्दा सही अर्थ लाग्छ । सामान छ, उत्पादन र आइडिया छ भने बेच्ने, कमाउने ठाउँ विश्वभरि नै हो भन्ने मान्यता हो यो । यसले सारा विश्वलाई नै गाउँ जस्तै गरेर चहार्ने सुविधा प्रदान गर्छ । सामान, सेवा केहिपनि छैन भने विश्वभरिका देशका लागी आफू बजार बनिदिने नेपाल जस्तै। दाताको मुख ताकेर बस्ने। यही हो अहिलेको कटु यथार्थ।

पीडितलाई आइसोलेटेड बनाउने, मरेको लास समेत नछुने र मलामी नजाने संस्कृति भनेको पूर्णतः व्यक्तिपरक व्यवहार हो। रोगको डर देखाएर यसले एक्काइसौँ शताब्दीमा नयाँ भेदभाव र छि छि दूरदूरको अवस्थामा जान  उत्प्रेरित गरी रहेको छ।

यस्तो पृष्ठभूमिमा कोरोनाको सङ्कटले सामूहिकतालाई बढवा दिइरहेको छ कि व्यक्तिवादीतालाई भनेर हेर्नु उपयुक्त हुन्छ। कोरोना सङ्कटको घडीमा सामूहिकता र हार्दिकता नभई सामाजिक दुरी कायम गर्नुपर्ने भनी व्यक्तिवादितालाई प्रश्रय दिएको पाइन्छ।
पीडितलाई आइसोलेटेड बनाउने, मरेको लास समेत नछुने र मलामी नजाने संस्कृति भनेको पूर्णतः व्यक्तिपरक व्यवहार हो। रोगको डर देखाएर यसले एक्काइसौँ शताब्दीमा नयाँ भेदभाव र छि छि दूरदूरको अवस्थामा जान  उत्प्रेरित गरी रहेको छ।
मानिसका मौलिक हक मानी आएको आवागमन लगायतका स्वतन्त्रता कटौती गरी सार्वभौम नागरिकलाई आफ्नो देश प्रवेशमा नै रोक लगाउन थालिएको छ।

रोगबाट बच्न लुकेर बस्ने मात्र उपाय सुझाउनुका पछाडि पूर्वीय संस्कृतिमा बचेखुचेको सामाजिक सद्भाव अन्त्य गरी समाजमा एकलकाँटेपन थोपरेर क्रमशः मानिसको सिर्जनात्मकता, प्रेम, जात्रा, चाडबाट जस्तो चीजबाट विरक्त बनाइँदैछ। यसरी लकडाउन गरिराख्ने हो भने सांस्कृतिक मान्यताहरू क्रमशः हराउँदैन जाने र आम मानिसहरू ल्याब सेटिङमा बस्नुपर्ने अवस्था सिर्जना गरिएको छ।

दातामा परनिर्भर तुल्याइएका कृषि उत्पादनका लागि पूर्वाधारविहीन नेपाल जस्तो देशमा धेरै लामो समय थप गरिबीले डेरा जमाउने निश्चित प्राय भएको छ। यस्तो स्थितिमा जनचाहना पूरा नहुने भएकाले थप राजनीतिक जटिलता र नैराश्य प्रेरित हिंसा भड्किने टड्कारो सम्भावना देखिन्छ।

सबैभन्दा ठुलो कुरा यसरी लुकेर बाँच्न धेरैभन्दा धेरै धन सम्पत्ति सञ्चय हुने मात्र बाँच्न सकिन्छ भनेर यो महामारीले श्रम गर्न र कमाएर खान होइन कि जसरी पनि अकुत सम्पत्ति जोड्न समेत नजानिँदो गरी उत्प्रेरित गरेको छ । गरिबलाई मात्र लाग्ने भोकमरी र रोगको चर्चा नै नहुने गरी कोरोनाको विषयमा प्रोपागान्डा भइरहेको छ। दातामा परनिर्भर तुल्याइएका कृषि उत्पादनका लागि पूर्वाधारविहीन नेपाल जस्तो देशमा धेरै लामो समय थप गरिबीले डेरा जमाउने निश्चित प्राय भएको छ। यस्तो स्थितिमा जनचाहना पूरा नहुने भएकाले थप राजनीतिक जटिलता र नैराश्य प्रेरित हिंसा भड्किने टड्कारो सम्भावना देखिन्छ।

प्रत्यक्ष व्यापारलाई अब पूर्ण स्वचालित र डिजिटाइज गर्न उत्प्रेरित गरेको छ, यो महामारीले। र, यो सब उत्प्रेरणाको प्रत्यक्ष लाभ भनेको वर्तमान नव उदारवादी अर्थ व्यवस्थालाई नै हुनेतर्फ लक्षित देखिन्छ। अहिले पुरै विश्वमा आर्थिक कारोबार ठप्प हुँदा डिजिटल प्लेटफर्महरू मालामाल भइरहनु नै यसको प्रत्यक्ष प्रमाण हो।

विश्वमा एकाएक सबै आर्थिक गतिविधि रोक्दा आउने वर्षमा २ करोड पचास लाख मानिसले रोजगारी गुमाउने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रक्षेपण छ भने वैदेशिक लगानीको आप्रवाहमा विश्वमै चालिस प्रतिशतले कमी आउने भन्ने UNCTAD को प्रक्षेपण रहेको छ।

यसबाट अब विश्वमा अहिले जस्तो पढाइ र रोजगारीका लागि आगामी दिनमा बसाइसराइमा तीव्रता नहुने, डिजिटल प्रविधिमा कम्पनीहरूको जोडले गर्दा प्रत्यक्ष रोजगारीमा कमी आउने देखिन्छ। यसले बहुराष्ट्रिय कम्पनीहरूको जनशक्तिको लागत घटेर प्रविधियुक्त र धनी देशलाई फाइदा नै पुग्ने देखिन्छ।

विश्वभरि आर्थिक गतिविधि रोकिने वा मन्द हुने स्थितिमा जो धनी छ उ धनी नै रहने र जो एक नम्बरमा छ उ त्यही स्थानमा रहिरहने स्थिति स्वाभाविक रूपमा हुन्छ। अतः विश्वभरि लगानीकर्ताले अहिले अमेरिकालाई नै सबल अर्थतन्त्रका रूपमा विश्वास गरिरहेको हुनाले अमेरिकी डलरको स्थिति मजबुत हुँदै गइरहेको छ। यसबाट अमेरिकी अर्थतन्त्रलाई सस्तो दरमा प्राकृतिक कच्चा तेल र सुन सञ्चय गर्ने अवसर जुटेको छ।

विश्व नै ठप्प पारेर वातावरण प्रदूषणमा कमी आउनु सकारात्मक भनेर चर्चा चलाइनु र अतिशयोक्ति गरिनु पनि धनीहरूलाई सफा सुग्घर स्वच्छ वातावरणका लागि गरिब र हुँदा खानेहरू कलकारखानामा काम गर्न वञ्चित हुनुपर्छ भन्ने खालको अतिरन्जना हो। वातावरणबारे यति विघ्न सचेत हुने हो भने विश्वलाई पूर्णतः आणविक निःशस्त्रीकरण गर्न यो महामारीले किन उत्प्रेरित गर्न सकेको छैन? यसबारे पनि गम्भीर भएर सोच्नु आवश्यक छ।

अतः कोरोना महामारीको समस्या सिजनल फ्लुकै रूपमा सदाबहार रहने चेतावनी समेत आइरहँदा भगवानसँग प्रार्थना मात्र गर्न सकिन्छ कि यो महामारी लामो अनुसन्धानपछि र एउटा श्रृङ्खलाबद्ध डिजाइनमा विश्व वैश्यीकरणलाई थप निर्मम र धारिलो तुल्याउने दाउमा सिर्जना वा उत्पादन गरिएको नहोस्। तर, सबै प्रवृत्ति हेर्दा विश्वलाई थप क्रूर उत्तर नव उदारवादी व्यवस्था (post neo-liberalism) तिर नै यो कोविड-१९ ले धकेल्ने देखिन्छ।

अतः तत्काल कुनै समाजवादिता वा सामूहिकतामा आधारित विश्व व्यवस्थाको परिकल्पना गर्नु मिठो सपना मात्र हो।

प्रतिक्रिया दिनुहोस