
एजेन्सी । कोरोना भाइरसको औषधी भन्दै धतुरो खाँदा भारतमा दुई परिवारका १२ जना बिरामी परेका छन् । बिरामी भएर अस्पतालमा भर्ना भएका मध्ये ५ जना बच्चा रहेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार आन्ध्र प्रदेशको चित्तुर भन्ने ठाउँमा यो घटना भएको हो । धतुरो खाँदा कोरोना लाग्दैन भन्ने कुरा उनीहरूले टिकटकको भिडियोमा हेरेका थिए । त्यसैलाई विश्वास गर्दा यस्तो घटना भएको हो ।
उनीहरू समयमा नै अस्पताल पुगेका कारण कसैको पनि मृत्यु भने भएको छैन । तर, चिकित्सकहरुले बताए अनुसार धतुरोमा पाइने एंट्रोपाइन नामक विषालु रसायनको कारण मानिसको मृत्यु हुनसक्छ ।
हाल त्यहाँको प्रहरी यस्तो भ्रामक भिडियो कसले बनाएर टिकटकमा पोस्ट गर्यो भन्ने अनुसन्धानमा लागेको छ । कोरोना बारे व्यापक जनचेतना फैलाउँदा समेत यस्ता घटनाहरू भइरहेकोमा प्रशासन भने चिन्तित छ ।
धतुरोको आकार र कोरोना भाइरसको आकार उस्तै देखिएका कारण मानिसहरूले धतुरो कोरोनाको औषधी हो भन्दा चाँडै विश्वास गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस