
कोरोना सङ्कटको अग्रपंतिमा रहेको मुलुक हो, रसिया । चीनसँग लामो सिमाना जोडिएको कारण रसियामा धेरै खतरा छ । तर, यो मुलुकको धेरै कुराहरू भने अमेरिकासँग तुलना गर्ने गरिन्छ । कोरोनाको मामिलामा पनि यस्तै भइरहेको छ । प्राय सबै नागरिकलाई यहाँ घरमा नै आइसोलेसनमा बस्न भनिएको छ ।
त्यहाँका क्षेत्रीय गभर्नर र ठुला सहरका मेयरहरूलाई नयाँ जिम्मेवारी र अधिकार दिइएको छ । सबै तहका नेताहरू अहिले रसियामा चिकित्सक र स्वास्थ्य क्षेत्रका अधिकारीहरूको सुझाव सल्लाहलाई शिरोधार्य गरेर बसेका छन् ।
तर, अहिले इतिहासको यो घडीमा रसियामा अर्को कुनै महत्त्वपूर्ण परीक्षण समेत भइरहेको छ । त्यो हो सन् २००० देखी त्यहाँ शासन गरिरहेका भ्लादिमिर पुटिन र उनले खडा गरेको राजनीतिक शासन प्रणालीको परीक्षा । त्यो बिल्कुलै मौलिक प्रणाली रसियामा माथि देखी तलसम्म स्थापित भइसकेको छ । त्यसो त पुटिन र उनको सत्ताले यसअघि पनि चेचेन युद्ध लगायतका समस्याको सामना गरिसकेको छ । तर, यो भने बिल्कुलै भिन्न र चुनौतीपूर्ण अवस्था हो ।
अहिलेको समस्याले पुटिन त्यहाँका एक नम्बर नेताको रूपमा रहिरन्छन् वा रहँदैनन् भन्ने कुराको पनि निर्क्योल गर्नेवाला छ । राष्ट्रपतिको रूपमा उनको पछिल्लो कार्यकाल सन् २०२४ मा सकिंदैछ । अहिले कोरोना विरुद्धको युद्ध चलिरहेको बेला पनि रसियामा अब पुटिनको अवस्था कस्तो होला ? उनलाई कोरोना आतङ्कले थप बलियो बनाउँछ वा रसियाबाट पुटिन युगको अन्त्य गर्छ होला ? भन्ने लगायतका छलफल सुरु भएको छ । यो स्वास्थ्य समस्याले रसियालाई कहाँ पुर्याउने हो अहिले नै भन्न सक्ने अवस्था छैन ।
रसियामा अहिले कतिपय दीर्घकालीन विषयहरू पनि सतहमा देखिएका छन् । पुटिनको बिस्तारै शासन सत्ताको अधिकार क्रेमलिनबाट त्यहाँको संसद् दुमामा प्रतिस्थापन गर्ने योजनामा परिवर्तन आउला वा त्यो कायम रहला भन्ने महत्त्वपूर्ण विषयमा पनि बहस, छलफल र विमर्श सुरु भएको छ । चाहे जे होस्, रसियाको वर्तमान अवस्था यो हो कि त्यहाँका विपक्षीले समेत पुटिनको विकल्प सोच्न सक्दैनन् ।
कोरोनाको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले रसिया र अमेरिका बिच नयाँ उचाइको सहकार्यको पनि माग गरिरहेको छ । उता रसियामा यो सम्भावना बारे छलफल सुरु भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रसियाको साथ नलिई कोरोनासँग लड्न नसकिने निष्कर्ष निकालेको देखिंदैछ । अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरू अमेरिका र रसिया बिच हुनसक्ने सहकार्यलाई दोस्रो विश्वयुद्धताकाको एलाइन्सको अर्को इपिसोड समेत भन्न थालेका छन् ।
अमेरिका र रसिया बिच अपरिहार्य छ भन्ने दुवै मुलुकका नागरिकका अलावा विश्व समुदायले समेत देखिसकेको छ । पुटिन र ट्रम्प समयको मागलाई आत्मासाथ गर्न सक्ने स्तरका नेता हुन् वा होइनन् भन्ने पनि अहिले कोरोनाले परीक्षा लिए झैँ प्रतीत हुन थालेको छ । अब हेर्न बाँकी छ, ट्रम्पलाई रसियासँग सहकार्य गरेर कोरोना विरुद्धको मोर्चामा उभिने छुट वाशिंगटनले दिन्छ वा दिँदैन ।
प्रतिक्रिया दिनुहोस