
काठमाडौं । गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको छ। सरकारले डीआईजीको दरबन्दी संख्या कटौती गर्दै १४ मा सिमित गरेपछि रिक्त रहेका १० पदमा गृहले बढुवा सिफारिस गरेको हो।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवामा वरियता मात्र नभई कार्यक्षमता सहितको मूल्यांकन गरेर बढुवा सिफारिस गरेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा रहेका थिए।
एसएसपीहरु घनश्याम अर्याल ( ७२.७९०४ पहिलो नम्बर) , प्रकाशजंग कार्की ( ७२.२३४२ दोस्रो नम्बर), बसन्तकुमार पन्त ( ७२.२१७६ तेस्रो नम्बर), ईश्वरबाबु कार्की ( ७१.५२०४ चौथो नम्बर), सहकुल थापा ( ७०.०१५८ पाँचौ नम्बर), धिरज प्रताप सिंह ( ६९.७१८० छैटौ नम्बर), बसन्तकुमार लामा (६९.४९७० सातौ नम्बर), रबिन्द्रकुमार धानुक (६९.४५४३ आठौं नम्बर), उत्तमराज सुबेदी (६९.२२७६ नौ नम्बर), र अरुणकुमार विसी (६९.१३७६ दशौं नम्बर) डीआईजी बढुवामा सिफारिस भएका छन्।
बढुवा हुने १० जना डिआइजीहरुलाई सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) , विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पठाइने छ ।
प्रतिक्रिया दिनुहोस