
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ रहेका विदेशी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न नसकिने बताएका छन् । अप्रिल १० मा ह्वाइट हाउसले जारी गरेको भिजा सम्बन्धी नयाँ आदेशमा यस्तो सङ्केत गरिएको हो ।
नयाँ नियम अनुसार अब अमेरिकाले आफ्नो नागरिक फिर्ता लैजान भनेको खण्डमा कुनै पनि मुलुकले सात दिन भित्रमा उनीहरूलाई फिर्ता लगिसक्ने पर्ने छ । सो नयाँ नियममा भनिएको छ, “अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिना कारण ढिलाइ गर्ने देशहरूका नागरिकले अमेरिकामा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।”
तीन बुँदे सो आदेशमा अमेरिकाले त्यहाँ सुरक्षा जोखिम बढाउन सक्ने जो कोहीलाई देश निकाला गर्ने समेत उल्लेख गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयलाई त्यस खालका कुनै पनि सूचना प्राप्त भएको खण्डमा बिना कुनै ढिलाइ सात दिनमा उनीहरूको भिजा अवधि समाप्त गर्न र देश निकाला गर्न भनिएको छ ।
आफ्ना नागरिक लान कुनै पनि देशले आनाकानी वा ढिलाइ गरेमा सो कुरा कुनै पनि हालतमा स्वीकार नहुने सो आदेशमा स्पष्ट पारिएको छ ।
यदि अवधि थप गरिएन भने यो नयाँ नियम कम्तीमा ३१ डिसेम्बर २०२० सम्म लागु हुने पनि राष्ट्रपतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस