aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मानव अधिकार अवस्था अनुगमनका लागि उच्चस्तरीय नेटवर्क गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
मानव अधिकार अवस्था अनुगमनका लागि उच्चस्तरीय नेटवर्क गठन


काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार, महासंघ र गैरसरकारी संस्था महासंघ बीच सहकार्य गरी कार्य गर्ने निर्णय भएको छ । 

 कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भैरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयहरुको अनुगमन गरी आवश्यक सुझाव दिन चारवटै संस्थाहरुका पदाधिकारीहरु रहेकोे उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरी कार्य शुरु गरिएको छ । 

उक्त उच्चस्तरीय अनुगमन समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द शर्मा पौड्याल संयोजक, आयोगका सचिव वेद भट्टराई, नेपाल बार एसोशियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामा, महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक डा. टीकारम पोखरेल रहेका छन । 

अनुगमनलाई थप प्रभावकारी बनाउन केन्द्रीय स्तरको अनुगमन समितिसहित सातवटै प्रदेशहरुमा आयोगका प्रदेश कार्यालय प्रमुख, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालका प्रदेश अध्यक्षहरु रहने गरी प्रदेशस्तरीय समिति गठन गरिने छ । यसैगरी देशका ७७ वटै जिल्लामा नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका अध्यक्षहरु रहने गरी जिल्लास्तरीय अनुगमन समिति गठन गरी कार्य गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस