
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी एकपटक मिडियालाई गालि गरेका छन् । संचारमाध्यमसँग बेखुसी रहेका उनी सोमबार वाशिंगटनमा आयोजित पत्रकार सम्मेलनमा नै एकाएक भड्किएका हुन् ।
सीबीएसकी रिपोर्टर पाउला रिडले ट्रम्पलाई सोधिन्, फेब्रुअरी महिनामा कोरोनाभाइरसको संक्रमण रोक्न के गर्नुभयो ? यो प्रश्न सोधेपछि राष्ट्रपति ट्रम्पले यसको जवाफ दिन इन्कार गरे । पाउला रिडप्रति भड्किए र भने, “तपाईंलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ । के तपाईंलाई थाहा छ ? तपाईंको पूरै कभरेज गलत छ ।”
उनले पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या स्थिर रहेको दाबी गरेपछी पाउला रिडले ट्रम्पलाई सो प्रश्न सोधेकी थिइन् ।बीबीसीले जनाए अनुसार सो सम्मेलनमा उनले कोरोनाभाइरस टास्क फोर्सको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले न्युयोर्क, न्युजर्सी, मिशिगन तथा लुसियानाजस्ता सहरका अस्पतालमा कोरोना संक्रमित बिरामी भर्ना हुने दर घटेको बताए ।
कोरोना संक्रमितको संख्या कम हुनुको कारण अमेरिकी आक्रामक नीतिले काम गरेको उनको दाबी छ ।
सुरुमा अमेरिकामा एक लाख भन्दा धेरैको मृत्यु हुने बताइए पनि यो महामारी कम हुँदै गएको राष्ट्रपति ट्रम्पको भनाइ थियो । राष्ट्रपति ट्रम्प उक्त प्रेस ब्रिफिङमा कोरोना भाइरसबारे मिडियाको कभरेजलाई लिएर निकै रुष्ट देखिए ।
उक्त प्रेस ब्रिफिङमा रहेका डा. एन्थोनी फाउचीले पनि राष्ट्रपति ट्रम्पको समर्थन गरेका थिए । उनले गत केही हप्ताको खराव अवस्थामा पछिल्ला हप्तामा सुधार आएको बताए । डा. फाउचीले आइतबारको अन्तर्वार्तामा पहिले नै अमेरिकाले पर्याप्त सतर्कता अपनाएको भए यति ठूलो क्षति बेहोर्नुपर्ने अवस्था नआउने बताएका थिए ।
राष्ट्रपति ट्रम्पले कोरोनाको संक्रमण रोक्न सबै राम्रो प्रयास गरिरहेको बताए । उनले संक्रमितको उपचारमा स्वास्थ्य सामग्री कमी हुनुको दोष राज्यका गभर्नरलाई लगाए । ट्रम्पले अमेरिकामा ३० लाख व्यक्तिमा कोरोनाको परीक्षण गरिएको बताए । उनले हरेक दिन करिब एक लाख १५ हजारमा परीक्षण गरिरहेको जानकारी दिए ।
अमेरिकामा कोरोनाका कारण २३ हजार २३२ को मृत्यु भइसकेको छ भने ५ लाख ७७ हजार ३०७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस