aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा पूर्व गोरखा सैनिकको कोरोनाबाट मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा पूर्व गोरखा सैनिकको कोरोनाबाट मृत्यु

लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।

लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो । 

उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएको छ । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो ।

चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ ।

पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उहाँको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उहाँको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ  जना पूर्वगोरखा सैनिक छन् ।
 

प्रतिक्रिया दिनुहोस