
काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा भेटिएका कोरोना संक्रमित परिवार क्वारेन्टाइनमा नबसेको खुलासा भएको छ । सनसिटीमा भेटिएका संक्रमित कामनपा वडा–५ (हाँडीगाउँ) मा गएर विभिन्न व्यक्तिलाई भेटेको तथ्य बाहिरिएकाे हो ।
कोरोनासंक्रमित प्रमाणित भएका दुई जनाले चैत ९ गते काठमाडौं महानगरपालिका वडा–५ को कार्यालयमा गएर जन्म दर्ता गर्न सिफारिस लिएका हुन् । महानगरपालिका वडा–५ हाँडीगाउँ भिमसेनस्थानका स्थायी बासिन्दा उनीहरूले जन्म दर्ताको सिफारिसमात्रै लिएनन्, करिव १ घण्टा जती वडा कार्यालयमा बिताए। त्यहाँ चिया समेत पिउन भ्याए ।
संक्रमितहरूले सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै यसरी ढाँटेर हिड्नु हुँदैन थियो, उनीहरूले सत्य तथ्य बताएर जोखिमबाट अरुलाई बचाउनुपर्नेमा आफै बाहिर हिडेर सिंगो वडालाई नै कोरोनाको जोखिममा पारेकाे हाँडीगाउँ बासीको भनाइ छ ।
सरकारले उनीहरू क्वारेन्टाइनमा नबसेर विभिन्न ठाउँमा गएका रहेछन् भने सत्य तथ्य बुझेर तुरुन्तै टेष्टमा लागि आवश्यक तयारी हाल्नु पर्ने वागमती प्रदेश काठमाडौ–५ ‘क’ का सांसद नारायण सिलवाले बताए । ‘यस्ता घटना अन्यत्र पनि हुन सक्छन्, यसमा ध्यान पुर्याउन नसके सिंगो समाज र देश नै जोखिममा पर्न सक्छ,’ उनले भने ।
संक्रमितहरू हाँडीगाउँ पुगेर विभिन्न मानिसलाई भेटको तथ्य बाहिरिएपछि भोलि बुधबार संक्रमितसँग प्रत्यक्ष भेटेकाहरूको र्यापिड टेष्ट(डीआरटी) गर्न लागिएको वडा सदस्य मिनासिंह प्रजापतिले बताइन् । उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएका वडा प्रतिनिधि र कर्मचारी गरी १३ जनाको भोलि बुधबार र्यापिड टेष्ट गर्न लागिएकोे हो। उनले भनिन्, ‘उहाँहरू जन्म दर्ता गर्न कार्यालयमा आउनु भएको थियो । भोलि कार्यालय सहायक कर्मचारीदेखि सबैको र्यापिड टेष्ट हुँदैछ ।’
उनीहरूले त्यसदिन वडा कार्यालयमा वडा अध्यक्ष रमेश डंगोल, वडा सदस्यद्वय मिनासिंह प्रजापति र उत्तम शर्मालाई समेत भेटेका थिए । संक्रमितहरू सेल्फ क्वारेन्टाइनमा बसेको भनिएपनि उनीहरू नेपाल आएको चौथो दिन जन्म दर्ताको लागि आफ्नो स्थायी घर हाँडीगाउँ गएका थिए ।
सनसिटी अपार्टमेन्ट रहेको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले सनसिटी अपार्टमेन्टमा बसेका संक्रमित क्वारेन्टाइनमा बसेको जानकारी आफूलाई सनसिटी व्यवस्थापकले दिएको बताए । ‘उहाँहरू विदेशबाट फर्केपछि सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ भनिएको थियो,’ उनले भने ‘तर उहाँहरू चैत ९ गते कामनपा–५ गएर जन्म दर्ता गराएको बुझिएको छ । यस हिसाबले हेर्दा उहाँहरू कहाँ कहाँ जानु भयो ? कस–कसलाई भेट्नु भयो, त्यो अझै खुल्न सकेको छैन ।’
सनसिटी अपार्टमेन्ट व्यनस्थापन समितिका सचिव तिलकराज खतिवडाले भने ती तीन जना सहित अन्य दुई जना विदेशबाट आएदेखि नै सेल्फ क्वारेनटाइनमा बसेको बताए । काठमाडौं महानगरपालिका वडा– ५ गएको विषयमा आफू जानकार नभएको भन्दै सचिव खतिवडाले यस विषयमा गार्डलाई सोधेर मात्र भन्न सक्ने जवाफ दिए ।
सनसिटी अपार्टमेन्टमा विदेशबाट आएका कति जना छन् भन्ने प्रश्नमा उनले यकीन तथ्यांक व्यवस्थापन समितिसँग नभएको समेत बताए । उनले भने, ‘काठमाडौं भनेको यस्तो सहर रहेछ कि, को कहाँ गयो कहाँबाट आयो भन्न चाहदा रहेनछन्, यहाँ पनि त्यहि भएको छ ।’ एक अर्कासँगको सम्पर्क कम हुँदा को कहाँबाट आएका हुन भन्ने तथ्यांक संकलन गर्न सकिएको छैन ।
सनसिटीका सचिव नारद अर्थमन्त्री युवराज खतिवडाका छोरा हुन्। यसबीच उक्त अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडा नगएको र उनले पनि डा.खतिवडालाई नभेटेको स्पष्ट समेत उनले पारे ।
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दैनिक हुने पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सनसिटीमा भेटिएका संक्रमितहरू कहाँ कहाँ र कसको सम्पर्कमा गएको खोजी भइरहेको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस