
अमेरिका । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।
नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाए । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।
यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो ।
उनले भने, ‘डब्लुएचओले चिकित्सा विशेषज्ञहरुलाई चीनमा पठाएर धरातलीय यथार्थ मूल्यांकन गरी वास्तविक अवस्था सार्वजनिक गरेको भए धेरै जनाको ज्यान जोगिन सक्थ्यो र आर्थिक क्षतिबाट पनि विश्वलाई जोगाउन सकिन्थ्यो । यसको सट्टा डब्लुएचओले चीन सरकारले गरेको कामको बचाउ गर्यो ।’
ट्रम्पले चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमणको सुरुवात हुँदा डब्लुएचओले प्रकोपको पर्याप्त आँकलन गर्न नसकेको आरोप लगाए । एजेन्सी
प्रतिक्रिया दिनुहोस