
काठमाडौं । हिजो बुधबारदेखि तनाव र त्रसित बनेका काठमाडौं महानगरपालिका वडा–५ का जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको चिन्ता केही हल्का भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट आएको टोलीले गरेको कोरोना परीक्षणबाट परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूको चिन्ता केही हल्का भएको हो ।
आज कामनपा वडा नं. ५ को कार्यालयमा गरिएको र्यापिड टेष्टमा ३८ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागकी ल्याव टेक्निसियन राधिका कुँइकेल (खनाल) ले कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको बताइन् ।
काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा भेटिएका कोरोना संक्रमित मध्य दुई जना गत चैत ९ गते सो स्थानमा आएर विभिन्न व्यक्तिलाई भेटेको तथ्य खुलेपछि हाँडीगाउँ बासी सोमबार बेलुकादेखि तनाव थिए । हिजो दिउँसभरिको लामो छलफलपछि महानगरपालिकाको सहयोगमा आज कोरोना परीक्षण गरिएको वडा अध्यक्ष रमेश डंगोलले बताए । ‘हिजोसम्म खुब तनावमा थियौ,’ उनले भने ‘ अब केही ढुक्क महसुुस भएको छ ।’
आज वडा कार्यालयमा काम गर्ने कर्मचारीदेखि सरसफाईमा काम गर्ने महानगरपालिका कर्मचारी, जनप्रतिनिधि तथा वडामा लकडाउन पछि सक्रिय भएर विभिन्न सामाजिक काम गर्दै आएको ३८ जनाको र्यापिड टेष्ट गरिएको अध्यक्ष डंगोलले बताए ।
साथै आजबाटै काठमाडौं महानगरपालिकाले कोरोना परीक्षण शुरु गरेको पनि टेक्निसियन कुँइकेलले बताइन् । ‘वडा नं.–५ गरिएको आजको कोरोना परीक्षण महानगरमै पहिलो हो,’ उनले भनिन् ‘अब भोलिबाट यसरी नै अन्य जिल्लामा पनि कोरोना परीक्षण गछौं ।’ महानगरले यसको योजना बनाइसकेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस