
अमेरिका । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ ।
अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुनेको संख्या पनि ६ लाख ३७ हजार नाघेको छ । जसमा सबैभन्दा प्रभावित राज्य न्युयोर्कमा संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । यो राज्यमा अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।
यता, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा महामारीका कारण सिर्जित संकटको माथिल्लो तह अमेरिकाले देखिसकेकाले लकडाउनमा रहेका केही राज्यहरु अप्रिल मै खुला हुने उनले बताएका हुन् ।
ट्रम्प प्रशासनले आउँदो मे एक मा लकडाउन अन्त्य गर्ने तयारी गरेपनि केही राज्यहरु त्यो भन्दा अघि नै खुल्न सक्ने उनले बताएका हुन । ३२ लाखभन्दा बढी अमेरिकीले कोरोना भाइरसको संक्रमण रहे–नरहेकोबारे परीक्षण गरिएको पनि राष्ट्रपति ट्रम्पले बताए ।
राष्ट्रपति ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गर्ने जानकारी समेत दिए ।
प्रतिक्रिया दिनुहोस