
काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले आफ्नो प्रदेशका सबै अन्तर्राष्ट्रिय नाका सिल गरेको छ । नेपाल बंगलादेश र भुटानतर्फ जाने सबै नाकाहरु प्रदेश सरकारले एक सातादेखि बन्द गरेको हो । उक्त निर्णयपछि एक सातादेखि पूर्वी नेपालको पशुपतिनगर र मेचीनगर भन्सारबाट कुनै पनि सवारी प्रवेश गर्न सकेका छैनन् ।
मेची नगर भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले चैत २६ गतेदेखि नेपाल भारतले गाडी नछोडेकोले नेपालतर्फ कुनै गाडी आउन नसकेको जानकारी दिए । ‘पहिले तरकारी, दुध, ग्यास बुलेटहरु प्रशस्त आउँथे, अहिले त्यो ठप्प छ । हामीले यसबारे भन्सार विभागलाई जानकारी दिइसकेका छौं’ उनले भने ।
तर भारतले भने यो प्रदेश सरकारले त्यसरी नाका सिल गराएको हुनसक्ने भन्दै यसबारे आफूलाई केही जानकारी नभएको बताएको छ । अहिले केही गाडीहरु सीमा नाकामा रोकिएर बसेका छन् । उनीहरुलाई भारतीय भन्सार अधिकारीहरुले विराटनगर भन्सारबाट रिरुट गरेर जान भनिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस