aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डाक्टर कुट्ने प्रहरीलाई जिम्मेवारीबाट हटाइयाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
डाक्टर कुट्ने प्रहरीलाई जिम्मेवारीबाट हटाइयाे

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट प्रकरणमा छानबिन समिति गठन भएको छ । साथै घटनामा संलग्न  रहेका महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख प्र.ना.उ. उमेश लम्साललाई  प्रमुखको जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको प्रकरणमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।

हिजो साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा। विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ ।

चिकित्सकहरूले आफूमाथि लाठी प्रहार भएको आरोप लगाएका छन् । समितिले घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा के गर्ने भन्नेबारे निर्णय हुने रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

चिकित्सक कुटिएको विषयमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको थियो ।

बिहीबार विज्ञप्ति जारी गर्दै संघले परिचयपत्र देखाउँदादेखाउँदै पनि प्रहरीबाट चिकित्सक कुटिनु अक्षम्य भएको जनाएको छ । 

संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध जनाउँदै कुटपिट गर्ने प्रहरीमाथि कानुनी कारबाहीको माग गरेको थियो ।

‘हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकमीृ, तथा चिकित्सहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटनाउनेमाथि कानूनी कारबाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहलाई गम्भीर असर गर्नेतर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले बिहीबार एक बिज्ञप्ती जारी गर्दै उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख प्र।ना।उ। उमेश लम्साललाइ प्रमुखको जिम्मेवारीबाट हटाइ महानगरीय प्रहरी कार्यालयमा तानिएको र थप छानविन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस