
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए ।
यस्तै नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्यविधि, २०७७ अनुसार ३५० शय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत भएको छ ।
यसका साथै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत भएको छ ।
बैंकिङ सेवा, स्वास्थ्य सेवा र खाद्यान्न ढुवानीका लागि जानुपरेमा अनिवार्य वडाको सिफारिस हुनुपर्ने निर्णय गरेको बताइएको छ ।
स्वास्थ्यकर्मीलाई पिपिइ
बैतडीको दशरथचन्द नगरपालिकाले ११ ओटै वडामा स्वास्थ्यकर्मीहरुका लागि पिपिइ सेटको व्यवस्था गरेको जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुका लागि प्रत्येक वडामा एक सेटका दरले पिपिइको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीहरुलाई सजिलो होस् भनेर व्यक्तिगत सुरक्षाका लागि पिपिइ वितरण गरिएको हो ।
नगरपालिकाले ११ ओटै वडामा यसअघि नै क्वारेन्टाइन निर्माण गरिसकेको छ । पिपिइ प्राप्त भएपछि स्वास्थ्यकर्मीहरुलाई काम गर्न सजिलो हुने गुरुखोला स्वास्थ्यचौकीका अहेव उत्तम भट्टले बताए।
दलित परिवारलाई राहत वितरण
बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरिका प्रत्येक दलित परिवारलाई राहत वितरण गर्ने भएको छ । जारी लकडाउनका कारण दलित समुदायका परिवार अरुभन्दा धेरै समस्यामा परेको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले कोरोना भाइरस सङक्रमण रोकथाम तथा उपचार कोष सन्चालनसम्बन्धी कार्यविधि, २०७७ पारित गरेको र सोही कार्यविधिमा टेकेर राहत वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै लकडाउनका कारण समस्यामा परेका असङ्गठित क्षेत्रका मजदूर, घर भएका तर जग्गा नभएका परिवार, असहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत राहत वितरण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।
उनले भने, “राहत वितरणका लागि वडाहरुको समन्वयमा तथ्याङ्क सङ्कलन गरिने र कार्यविधिमा समेटिएकाहरुलाई राहत वितरण गरिनेछ ।”
गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरी सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस