aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

घर जान चाहनेलाई पठाउन प्रमको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
घर जान चाहनेलाई पठाउन प्रमको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाई गर्ने र घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर व्यवस्थापन गर्न निर्देशन दिएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

“अत्यावश्यक बाहेकका आवतजावत थप कडाइ गर्न र सीमानाकामा  अझ कडाइका साथ बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिएको छ”, मन्त्री ज्ञवालीले भने, “घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।” 

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गए पनि नेपालमा फैलिन नदिई नियन्त्रणमा राख्ने काम सरकारले चालेको कदम प्रभावकारी रहेको विषयमा छलफल भएको थियो । 

बैठकमा कोरोना रोकथाम समितिले कोरोना फैलिन नदिन प्रभावकारीरुपमा काम गरिरहेको र थप फैलिन नदिन लकडाउनलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको मन्त्री ज्ञवालीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस