
नयाँ दिल्ली । आइतवार सातौं चरणको निर्वाचन सकिएसँगै भारतको तल्लो सदन लोकसभाको निर्वाचन सकिएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने निर्वाचन सकिएपछि सार्वजनिक भएका एक्जिट पोलले देखाएका छन् ।
सीभोटर्सले गरेको एक्जिट पोलमा मोदीको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले मुलुकको २८७ सीट जित्ने अनुमान छ । ५४५ सीटका लागि भएको लोकसभाको निर्वाचनमा विपक्षी कांग्रेस आईको गठबन्धनले १२८ सीट जित्ने अनुमान छ । बहुमतका लागि २७२ सीट जित्नु आवश्यक छ । त्यस्तै, टाइम्स नाउको एक्जिट पोलले भने मोदी गठबन्धनले ३०६ सीट जित्ने देखाएको छ ।
जनकी बातको एक्जिट पोलले मोदी गठबन्धनले ३०५ सीट जित्ने देखाएको छ । न्यूज नेशनको एक्जिट पोलले भने यो गठबन्धनले २ सय ८६ सीट पाउने देखाएको छ । ५ वर्षअघि भएको निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टी ९भाजपा०को गठबन्धनले ३३६ सीट जितेको थियो भने विपक्षी कांग्रेसको गठबन्धनले ६० सीट जितेको थियो ।
यसपटकको निर्वाचनमा विपक्षीको गठबन्धनले यसअघिको भन्दा दोब्बर सीट जित्ने एक्जिट पोलले देखाएका छन् । टाइम्स नाउको एक्जिट पोलमा यो गठबन्धनलाई १३२, जनकी बातको पोलमा १२४, न्यूज नेशनको पोलमा १२२ सीटमा जित प्राप्त हुने देखिएको छ । सत्तारूढ पार्टीको गठबन्धनले भने यसअघिको तुलनामा केही सीट गुमाउनसक्ने देखिएको हो ।
प्रतिक्रिया दिनुहोस