
काठमाडौं । पछिल्लो समय सहरी क्षेत्रमा भूमिको मात्रा कमी हुँदै गएको छ । किसानले उत्पादन गर्ने कृषियोग्य भूमिको मात्रा घट्दै गएको छ । उत्पादन हुने ठाउँमा घर जग्गा र बिल्डिङ बनिरहेका छन् । किसानले चाहेको मात्रामा उत्पादन गर्न सकिरहेका छैनन् । अहिले दैनिक कृषिजन्य बस्तुहरू पुरा गर्न छुट्टै प्रविधिको खाँचो भइसकेको छ । यस्तै फरक प्रकारको छुट्टै प्रविधिमा खेती गर्ने प्रविधिको विकाससँगै विस्तार हुँदै गएको छ ।
पछिल्लो समय सहरी क्षेत्रमा हाईड्रोपोनिक अर्थात् माटो विना नै तरकारी खेती गर्ने प्रविधि बढ्दै गएको छ । माटोमा खेति लगाउन खन जोत, बेला बेलामा गोडमेल र सिँचाइ गरेर पनि राम्रो उत्पादन गर्न नसकिरहेको बेला माटो बिना नै खेती गर्न सकिन्छ भनेर पत्याउन नै गाह्रै पर्छ । तर, प्रविधिले यसलाई सम्भव तुल्याइसकेको छ ।
काठमाडौको शहरी क्षेत्रपाटि ठमेलमा ४ युवाले माटो विना नै तरकारी फलाएर देखाई दिएका छन् । चार महिना अघि अर्बन फर्म नेपाल दर्ता गरेर खेती शुरु गरेका ती युवाले अहिले आफ्नो घरको छतमा विषादीरहित काँक्रा, खुर्सानी, टमाटर, भन्टा, हरियो साग, क्याप्सिकम, काउली, खुर्सानी, धनियाँ, स्ट्रोबेरी लगायतका तरकारी फलाएका छन् ।
अर्बन फर्म नेपालका म्यानेजिङ डाइरेक्टर सुधिर मानन्धरले विदेशमा बस्दा कृषि फर्मको अनुभव भएकोले नेपालमै केही गछौँ भनेर आफ्नै भूमिमा फर्किएको बताए । उनले विदेशमा सिकेको त्यही सीप र ज्ञान आज स्वदेश फर्केर प्रयोगमा ल्याएको बताए । उनले भने, “यो प्रविधिबाट गरिने खेतिमा माटोको प्रयोग पटक्कै हुँदैन । यस्तो खेतीलाई हाईड्रोपोनिक बटो बकेट अर्थात् डच बकेट खेति पनि भन्ने गरिन्छ । यो प्रविधिको खेतीमा माटोको सट्टा पर लाइट र क्लेपेवल प्रयोग गरिन्छ ।” उनले थपे, “बिरुवाका जरा अड्याउन सहयोग गर्ने र उसलाई आवश्यक खाद्य तत्त्व उपलब्ध गराउन सहयोग गर्ने हुँदा त्यसलाई मिडिया पनि भनिने गरिन्छ ।”
विज्ञान र प्रविधिको विकास तीव्र रूपमा भइरहेको हुँदा त्यसको अनुशरण गर्न सक्ने हो भने मनग्य आम्दानी गर्न सकिने उनले बताए । पुरानो पद्धतिबाट खेती गर्दा त्यो निर्वाहमूखि मात्रै हुने हुँदा नयाँ प्रविधिको खेती गर्दा मनग्य फाइदा लिन सकिने मानन्धरको भनाई छ । ‘यदि सबैले यसै गरी खेती गर्ने हो भने केही वर्षमै भारतबाट आउने तरकारी पूर्ण रूपमा रोकिन्छ । बरु यताको उत्पादन उता पठाएर देशले आर्जन गर्न सक्छ।’ उनले भने ।
यस्तो किसिमको तरकारी उत्पादनको बारेमा युवाहरूलाई तालिम समेत दिँदै आएको मानन्धरले बताए । उनले भने ‘हामीले चार महिनादेखि यो खेती शुरु गरेका हौँ । ‘हाम्रो उत्पादन विषादीरहित हुन्छ त्यसले गर्दा तरकारी लिनलाई खोसाखोस हुन्छ ।’
हाईड्रोपोनिक प्रविधिबाट गरिने खेती बिषदीरहित हुने हुँदा यसले उपभोक्ताको स्वास्थ्य जोखिममा नपार्ने मानन्धरले दाबी गरे । हाईड्रोपोनिक प्रविधिबाट खेतिगर्दा तुलनात्मक रूपमा श्रमिक पनि थोरै भए पुग्ने र खेती गर्न पनि सहज हुने उनको अनुभव रहेको सुनाए ।
उनले भने, “हामीले स्वस्थ, दिगो र ताजा तरकारी स्थानियरुपमै उत्पादन गर्ने उद्देश्यका साथ यो सहरी खेती प्रणालीको थालनी गरेका हौँ । हाइड्रोपोनिक प्रविधिको प्रयोग गरी गरिने यो सब्जी खेतीमा माटोको आवश्यकता हुँदैन । यो प्रविधिमा खेती गर्दा पोषण युक्त पानीको प्रयोग गरेर त्यसैको माध्यमबाट तरकारी खेती गरिन्छ ।”
मानन्धर भन्छन्, हाम्रो उद्देश्य प्रत्येक घरका छतहरुमा आम मानिसहरूले ताजा तरकारी फलाउने प्रविधि सिकाउनु पनि हो । मानिसहरूले यसबाट आफ्नै घरमा स्वतन्त्र ढङ्गले ताजा तरकारी उत्पादन गर्न सक्छन् र त्यो बजारमा किनेको सब्जी भन्दा स्वस्थकर हुन्छ ।”
उनले स्थानीयरुपमा नै उत्पादन गरिएको स्वच्छ, ताजा र स्वस्थकर तरकारी उपलब्ध गराउन खोजिरहेको बताए । यसको शिक्षा विस्तार गर्नु र आउने पीडिलाई स्थिानीरुपमा नै स्वच्छ तरकारी उत्पादन गर्ने र वातावरणीय प्रदूषण कम गर्ने प्रविधिमा अभ्यस्त गराउनु पनि अर्बन फर्मको उद्देश्य रहेको मानन्धरको भनाइ छ ।
काठमाडौँ जस्तो सहरी वातावरण जहाँ लगभग डेढ दशकको अन्तरालमा खेतीयोग्य जमिन पूर्ण रूपमा नष्ट भयो । त्यस्ता ठाउँहरूको लागि यो विधि अत्यन्तै उपयोगी हुन्छ । त्यसबाहेक विभिन्न प्रकारका मलखाद र विषादीहरूको कारण जमिनको माथिल्लो तहमा रहेको उर्वरा शक्ति नष्ट भइसकेको अवस्थामा बालीनाली र तरकारी उत्पादनमा ह्रास आएको छ । त्यसैले यो अवस्थामा माटो विना नै खेती गर्न सकिने यो प्रवुधीको अलग्गै महत्त्व छ । फेरी अहिले बजारमा उपलब्ध सबै तरकारीहरू अत्यधिक रहेका छन् । जसले गर्दा हाम्रो स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।
यो प्रविधिबाट खेती गर्दा ३६ वर्ग फिट क्षेत्रमा मात्र ३० दिनमा साढे २ केजी हरियो साग उत्पादन गर्न सकिन्छ । जसले एउटा ४ जनाको परिवारलाई हप्ताभरि पुग्ने पौष्टिक पदार्थ प्रदान गर्छ । यो प्रविधिको सबैभन्दा महत्त्वपूर्ण कुरा त यो हो की यसबाट कम समयमा थोरै पानी प्रयोग गरेर पनि ठुलो मात्रामा सजिलै तरकारी उत्पादन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस