aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिन्धुपाल्चोकबाट दुई दिनमा बनेपा, दाङ कति दिनमा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
सिन्धुपाल्चोकबाट दुई दिनमा बनेपा, दाङ कति दिनमा ?

काभ्रेपलाञ्चाेक । ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइ पुगे । 

सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आएका तुल्सीपुर नगरपालिका वडा नं. १९ बिजौरी घर भएका ६१ वर्षीय ओलीले भने, “कोठामा खाद्यान्न सकिएपछि अब जसरी भए पनि घर पुग्नुको भएन ।” उनी एक महिनाअघि सिन्धुपाल्चोक पुगेका हुन् । बाटामा खाना खाने सुविधा नभएपछि बनेपा आइपुगेपछि भने उनि भोको रहनु परेन ।

यताा धादिङमा गणेश ईटा भट्टामा काम गर्दै आएका कान्छामान तामाङ बालबच्चासहित हिँडेरै दुई दिनमा बनेपा आइपुगेका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ८ स्थायी घर भएका उनी विगत दुई वर्षदेखि सो ईटाभट्टामा काम गर्दै आएका छन् र बन्दाबन्दीका कारण काम नभएपछि घर फर्किएको हो । 

उनले भने, “साहु पनि सम्पर्कमा छैनन, नाइके पनि बेपत्ता भए । खाद्यान्न किनेर खान पैसा सकियो ।” उनी भक्तपुरको आफन्तको घरमा बस्न जाँदा घरपतिले बस्न नदिएको गुनासो गर्छन् ।
 
सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ जगाडीका चन्द्रबहादुर तामाङ भक्तपुरको चाँगुनारायणदेखि हिँडेर गाउँ त्यता जाँदै छन् । उनीलगायत दश जनाको समूह दुधौली हिँडेका हुन् । 

उनीहरुसँग १४ जनाको समूह रहेकामा चार जनालाई एउटा गाडीले लगेपछि बाँकी हिँडेर जाँदैछन् ।

काठमाडौं टोखामा किराना पसलमा काम गर्दैै आएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ४ का  भिमसेन खड्काको पनि अवस्था उस्तै छ । लकडाउनले खाना र बस्न समस्या थपिदै गएपछि कोठा छोडेर हिँडेको उनले बताए ।

बनेपा आइपुगेका करिव १०० जनालाई शनिबार स्थानीय व्यवसायीले खाना र पानीको व्यवस्था गरेका थिए । भोकभोकै बाटोमा हिँड्नेहरुको सङ्ख्या बढ्दै गएपछि आफूहरुले प्रशासनको अनुमतिमा खाना र पानीको व्यवस्था गरेको सुधीर वैद्यले बताए । 

काभ्रे उद्योग वाणिज्य सङ्घ बनेपाको समन्वयमा पानस पार्टी प्यालेसले गत चैत २५ गतेदेखि निरन्तर खाना र पानीको व्यवस्था गर्दै आएको सङ्घका महासचिव कैलाश पलाञ्चोकेले बताए । 
 

प्रतिक्रिया दिनुहोस