
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको विषयमा आएका समाचार प्रति खण्डन गरेको छ । आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले विभिन्न सञ्चारमाध्यमले कपोकल्पित समाचार प्रकाशन, प्रसारण गरेको भन्दै मनगढन्ते समाचार नबनाउन आग्रह गरेका हुन् ।
मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ। सहसचिव विष्टले डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड १९ विरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए।
उनले कपोकल्पित कुरालाई मिडियाले बढाइचढाइ गरी समाचार सम्प्रेषण गर्नु खेदजनक भएको बताए। सहसचिव विष्टले डाक्टर पुनलाई लेखिएको पत्रको ब्यहोरा नै पढेर सुनाएका थिए।
प्रतिक्रिया दिनुहोस