aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
टिप्पणी

यसकारण ‘र’ लाई ‘वा’ पार्न बाध्य बने ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
यसकारण ‘र’ लाई ‘वा’ पार्न बाध्य बने ओली

सोमबार अपराह्नपछि अचानक नेपालको राजनीति तरगिंत भयो । भित्र भित्रै आँधि त थियो तर सतहमा सुनसान देखिएको राजनीतिलाई र को सट्टा वा बनाउने निर्णय गरेर प्रधानमन्त्री केपी ओलीले सुनामी नै सिर्जना गरे । 

अहिले धेरैको ओठमा एउटै प्रश्न छ– किन यसो गर्न बाध्य भए नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली ? प्रश्न झट्ट सुन्दा सामान्य हो तर ठोस उत्तर दिन सक्ने अवस्थामा कोही छैनन् । सही जवाफ अनुमानको लागि समेत केही दिन यता चलेका उच्च स्तरीय भेटवार्ता र त्यसको पृष्ठभूमिमा विगत एक वर्ष भन्दा बढी समय देखि नेकपा भित्रैबाट ओलीलाई छिर्के गर्ने गरी बनेका योजनाहरू केलाउनु पर्ने हुन्छ । 

हालैका घटना 

सोमबार मन्त्री परिषद्को बैठक लगतै पूर्वमाओवादी खेमाका मन्त्रीहरू प्रचण्डलाई खुमलटार तिर दौडिए । राजनीति दल सम्बन्धी ऐन २०७३ को परिच्क्षेद–६ मा रहेको दल त्याग सम्बन्धी प्रावधानमा रहेको एक अक्षरलाई संशोधन गर्ने निर्णय आजको मन्त्रीपरिषद्को बैठकले पारित गरेको थियो । अध्यादेशमार्फत सो कानुन संशोधन गर्ने सरकारी निर्णयले नेकपा भित्रको पूर्व माओवादी पक्षलाई ४४० भोल्टको झट्का लाग्यो ।

 किनकि यो संशोधन पश्चात् ओली समूहलाई पार्टी फुटाउन अत्यन्तै सहज हुने भएको छ । संशोधन अघि ऐनमा “कुनै दलको केन्द्रीय समिति र सङ्घीय सांसदको संसदीय दलमा कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।”

अब अध्यादेश मार्फत “केन्द्रीय समिति र सङ्घीय सांसदको संसदीय दलमा” भन्ने पदावलीको सट्टा “केन्द्रीय समिति वा सङ्घीय सांसदको संसदीय दलमा” भनिएको छ । फरक यति हो की र लाई हटाएर वा बनाइयो । 

यसअघि ओलीले आफूसँग असन्तुष्ट रहेका अर्का अध्यक्ष प्रचण्डसँग शुक्रवार गहन छलफल गरेका थिए । त्यहाँ प्रचण्ड साइजमा नआउने देखेपछि त्यसै बेला उनलाई आजको अध्यादेशबारे धम्की समेत दिइएको थियो । शनिवार  नेता माधवकुमार नेपालसँग लामो छलफल गरेका ओलीले सोमबार चुनौतीपूर्ण निर्णय गरे । पार्टी भित्र आफूलाई असहयोग गर्ने नेताहरूलाई तर्साउने मात्रै उनको योजनाका रूपमा यसलाई बुझियो भने त्यो अपूर्ण हुने विश्लेषकहरू बताउन थालेका छन् ।  

स्मरण रहोस् केपी ओली विदेश रहेका बेला उनी विरुद्ध माधव नेपाल, प्रचण्ड, बामदेव गौतम, नारायण काजी श्रेष्ठ, झलनाथ खनाल बसेर योजना तयार गरेको झम्सिखेल बैठक अहिले पनि धेरैको स्मरणमा ताजै छ । त्यसपछि पनि केपी ओलीलाई एक्लाउने प्रयास नेकपा भित्र पटक पटक भयो त्यस काममा प्रचण्ड सक्रिय बने । 

कोरोना सङ्कटको अवस्थामा पनि वर्तमान ओली सरकार विरुद्ध अझ विशेष गरेर पूर्व एमाले नेताहरूले सम्हालेको मन्त्रालयमा गतिविधि र मन्त्रीहरूलाई लक्षित गरेर विरोधको गीत गाउनेमा नेकपा भित्र कै पूर्व माओवादीका कार्यकर्ताहरू अग्र मोर्चामा थिए । विपक्षीभन्दा असष्णिु बनेर नेकपा कै कार्यकर्ताहरूले सामाजिक सञ्जालका भित्ता रंग्याउनु पनि केपी ओलीको आजको निर्णयभन्दा कम उदेक लाग्दो थिएन । त्यसैले धेरै कोणबाट ओलीको यो निर्णय बाध्यात्मक पनि देखिन्छ । भलै यो घटना पुरापुर असान्दर्भिक र बेमौसम भने चाहिँ पक्कै हो । 
 

प्रतिक्रिया दिनुहोस