aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रहरी र थुनुवाको परीक्षण तिब्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
प्रहरी र थुनुवाको परीक्षण तिब्र

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
 
कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा कोरोना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

काठमाडौँमा परीक्षण गराउने बढ्दै

सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । 

केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।

कामपामा गत बुधबारदेखि शुरु भएको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको कामपामा हालसम्मा २५ वटा वडाका शङ्कास्पद व्यक्तिको  परीक्षण भएको छ । 

विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण शुरु भएको छ ।

परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गरे ।

कामपा शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सोमबार मात्रै वडा नं. ६, ७, ८ र ९ का १६८ जनाको परीक्षण गरिएको र अब वडा नं। १, २ ३, ११, २८, २९ र ३० वडाको परीक्षण बाँकी छ । 

महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३२१ जनाको विवरण सङ्कलन भएको बताए ।

मस्जिदमा अनुगमन

भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सोमबार लहान नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा सर्वपक्षीय अनुगमन टोलीले लहान नगरपालिका वडा नं ५ र वडा नं ४ र वडा नं १८ स्थित मस्जिदहरुको अनुगमन गरेको हो ।
 
मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिएअनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरत थापा क्षेत्रीले जानकारी दिए ।  

बाँकेमा थुनुवाको कोरोना परीक्षण
जिल्ला प्रहरी कार्यालय बाँकेकोे  हिरासतमा रहेका थुनुवाको कोरोना संक्रमण जाँच शुरु गरिएको छ । थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट संलग्न हुनुुपर्ने अदालतको आदेशानुसार आरडिटीमार्फत कोरोना संक्रमण जाँच गरिएको हो ।

हिरासतमा रहेका नौ थुनुवाको ‘आरडिटी’ जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । थुनुवासँगै गएका एक प्रहरीको समेत ‘आरडिटी’ जाँचमा  रिपोर्ट नेगेटिभ देखिएको मुद्दा फाँट इञ्चार्ज प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए । प्रहरीको हिरासतमा रहेका थुनुवाको थुनछेक बहसअघि ‘आरडिटी’ जाँच गर्न शुरु गरिएको उनले बताए ।

गम्भीर प्रकृतिका अपराधका २९  थुनुवाको थुनछेक बहसअघि ‘आरडिटी’ गर्नुपर्ने भए पनि किटको अभावमा पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको पहलमा नौ जनालाई मात्र जाँच गरिएको प्रहरी निरीक्षक सापकोटाले बताए । 

प्रहरीले सामान्य मुद्दाका थुनुवालाई हाजिरी जमानीमा छाडिसकेको छ । अहिले हिरासतमा गम्भीर अपराधका थुनुवा मात्रै छन् । स्वास्थ्य कार्यालयसँग आरडिटी किट माग गर्दा क्वारेन्टाइनमा बसेकालाई मात्र भन्ने निर्देशन भएकाले किट उपलब्ध गराउन नसकिएको प्रहरी निरीक्षक सापकोटाले बताए । 

स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले क्वारेन्टाइनमा राखिएकालाई मात्र जाँच गर्न प्रदेशबाट किट उपलब्ध गराइएको र त्यो अपुग भएकाले प्रहरीलाई दिन नसकिएको बताए । उनले क्वारेन्टाइनमा रहेकालाई ६३५ किट आवश्यक पर्नेमा प्रदेशबाट ६ सय  मात्र आएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस