aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अझै कति दिन पानी पर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
अझै कति दिन पानी पर्ला ?

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता सर्बसाधारणामा अपनाउन अनुरोध गरेको छ ।

हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको हो । उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा रहेको जनाएको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नपश्चात् पहाडी भू–भागका केही स्थानमा र पश्चिमी तराईका एक–दुई स्थानमा हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ । बिहीबार पश्चिमका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू–भागका केही एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस