
काठमाडौँ । मुलुकको व्यापार घाटा करिब ९ प्रतिशत घटेको छ । आव २०७५/७६ को चैतसम्म व्यापार घाटा ९ खर्ब ९१ अर्ब ७८ करोड थियो । चालु आवको ९ महिनासम्म घाटा घटेर ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा घाटा ८.८८ प्रतिशत कम हो ।
नौ महिनामा वैदेशिक व्यापार ६.१९ प्रतिशत घटेर १० खर्व ६१ अर्व ३५ करोडमा झरेको छ । निर्यात व्यापार भने करिब १३ प्रतिशत बढेको विभागको तथ्याङ छ । यो अवधिमा ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात व्यापार ६९ अर्ब ८२ करोड २३ लाख थियो । मुलुकको आयात व्यापार भने ७.४५ प्रतिशत घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँमा पुगेको विभागले उल्लेख गरेको छ ।
कति भयो निर्यात ?
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन गरिए वस्तु आयात निर्यात भइरहेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको चैत महिनामा ३ अर्ब ९१ करोडको वस्तु निर्यात गरिएको छ । यस अवधिमा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित पाम तेल भएको छ । यो तेल २९ करोड ३० लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ४४ हजार ३ सय ७८ किलो निर्यात भएको छ ।
गत वर्षदेखि मात्रै पाम तेल निर्यात हुन थालेको हो । मलेसिया, इन्डोनेसियाबाट कच्चापदार्थ ल्याई रिफाइन गरेर भारत पठाउँदै आएका छन् । सरकारले निर्यात प्रवद्र्धनमा थप सुविधा दिएपछि पाम तेलको निर्यात एक नम्बरमा छ । दोस्रोमा भटमास तेल ४ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार ७ सय १७ किलो निर्यात भएको छ । भटमासको पनि कच्चापदार्थ आयात र प्रशोधन गरेर निर्यात गरिँदै आएको हो ।
चैत महिना १ करोड ९१ लाख रुपैयाँको पिना, १ करोड ४२ लाख रुपैयाँको अन्य कपडा (ऊनी, सुर्ती) र १ करोड ४ लाख रुपैयाँको मेसिनरी पार्ट निर्यात भएको छ । ५९ लाख रुपैयाँको प्लास्टिकका सिट, ५८ रुपैयाँको सेन्थेटिक यार्न, ५४ लाख रुपैयाँको कुकुर बिरालोको खाना, ५२ लाख रुपैयाँको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको विभागको तथ्याकं छ । चैतमा समग्र निर्यात भने ५० प्रतिशतभन्दा बढी घटेको छ । फागुनमा ९ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको थियो । चैतमा निर्यात घटेर ३ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ ।
कति भयो आयात ?
सरकारले लकडाउन गरेपछि चैतको व्यापार ५४ प्रतिशत घटेको छ । भन्सार विभागका अनुसार मासिक औसत १ खर्ब १५ अर्बदेखि १ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात हुन्थ्यो । चैतमा ५८ अर्ब २९ करोड रुपैयाँको मात्रै आयात छ । लकडाउनअघि (चैत १ देखि १०) सम्म ४२ अर्ब १८ करोड ८० लाख रुपैयाँको आयात भएको थियो ।
त्यसपछि सरकारले आयातमा कडाइ गर्दै अत्यावश्यक वस्तु मात्रै ल्याउने निर्णय गरेको थियो । जसले गर्दा आयात खुम्चिएको हो । सबैभन्दा बढी २ अर्ब ८ करोड ७७ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ । दोस्रोमा चामल आयात भएको छ । चामल २० दिनमा ९६ करोड ७८ लाख रुपैयाँ बराबरको आयात भएको विभागको तथ्याङ छ । केराउ गेडागुडी खरिदमा ७० करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ ।
१ करोड ४४ लाख १५ हजार किलो केराउ आयात भएको छ । यस अवधिमा ६७ करोड ९६ लाख रुपैयाँको एलोपेथिक औषधि, ५६ करोड ४१ लाख रुपैयाँको सूर्यमुखीको कच्चा तेल, ५५ करोड ५७ लाख रुपैयाँको एमएस बिलेट आयात भएको विभागको तथ्यांक छ । ४९ करोड ५२ लाख रुपैयाँको खाद्यान्न मकै, ४६ करोड ७१ लाख रुपैयाँको भटमासको तेल (कच्चा), ४४ करोड ३३ लाख रुपैयाँको पत्थर कोइला र ४१ करोड ८३ लाख रुपैयाँको भटमासको पिना आयात भएको छ।
औषधिमात्रै झन्डै २२ अर्बको भित्रियो
भन्सार विभागका अनुसार नौ महिनामा २१ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको औषधि र यसको कच्चा पदार्थ आयात भएको छ । पछिल्लो एक महिनामा मात्रै १ अर्ब ३५ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ आयात भएको छ । फागुनसम्म २० अर्ब ५२ करोड रुपैयाँको औषधि आयात भएकोमा चैतमा बढेर २१ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस