
भारत । भारतले र्यापिड टेस्टिङ किटबाट परीक्षण रोकेको छ । कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने किटको नतिजामाथि प्रश्न उठिरहेका बेला भारतले यो किटबाट परीक्षण रोकेको हो ।
मंगलबार आयोजित केन्द्रीय गृह, स्वास्थ्य मन्त्रालय र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को संयुक्त पत्रकार सम्मेलनमा देशभर आगामी दुई दिनसम्म र्यापिड टेस्ट किटबाट कोरोना भाइरसको परीक्षण नहुने जानकारी दिइएको बीबीसी हिन्दीले जनाएको छ।
यसअघि राजस्थान राज्य सरकारले कोरोना संक्रमितको नतिजासमेत र्यापिड किटले नेगेटिभ देखाएको भन्दै आजदेखि यो किटबाट परीक्षण बन्द गरिसकेको छ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डाक्टर रमन गंगाखेडकरले विभिन्न राज्यहरुमा भइरहेको र्यापिड टेस्टको नतिजा अलग अलग आएको र यो उपयुक्त नभएकाले दुई दिन परीक्षण रोक्न राज्य सरकारलाई भनिएको बताए। ‘यसलाई मध्यनजर गर्दै आईसीएमआरले राज्यहरुमा विशेषज्ञ चिकित्सकहरुको टिम पठाउँदैछ। दुई दिनसम्म राज्य सरकारलाई र्यापिड टेस्ट किट प्रयोग नगर्न भनेका छौं,’ डाक्टर रमनले भने।
अध्ययन तथा जाँचपछि आईसीएमआरले र्यापिड टेस्ट किट प्रयोग गर्नेरनगर्नेबारे दिशानिर्देश जारी गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस