aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ओली लगायत यी राष्ट्रप्रमुख जसले गरे संकटको दुरुपयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
ओली लगायत यी राष्ट्रप्रमुख जसले  गरे संकटको दुरुपयोग

प्रधानमन्त्री केपी शर्मा ओलीमा आरोप छ, कोरोना महामारीको बेला उनी आफ्नो सत्ता सुदृढ गर्न तल्लीन छन् । अलोकतान्त्रिक निर्णय र स्वतन्त्रताको हनन् गर्दै उनी निरङ्कुशता तर्फको यात्रा अगाडि बढाउँदै छन् । 

आफ विरुद्ध उठ्ने आवाज दबाउन कोरोना नियन्त्रण गर्न लगाइएको लकडाउनलाई उनी प्रयोग गरिरहेका छन् । अभिव्यक्ति स्वतन्त्रता देखि वैयक्तिक राजनीतिक स्वतन्त्रता समेत हनन् गर्ने काममा उनी लागिसकेका छन् । आफ्ना विरोधी भनेर चिनिएका जतिलाई कानुनको दुरुपयोग गर्दै तह लगाउने उनको योजना कार्यान्वयनमा आउन लागेको आशंकाले पुरै नेपाल अहिले त्राहिमाम् छ । 

अप्रत्यासितरुपमा जारी भएका दुई वटा अध्यादेशले उनको भित्री रणनीति उजागर गर्‍यो । लगतै भएको समाजवादी सांसद अपहरणमा सरकारको संलग्नता रहेको देखियो । उता सामाजिक सञ्जालमा सरकार विरुद्ध लेखेका आरोपमा नेपाल सरकारका पूर्व सचिव हाल प्रहरीको हिरासतमा छन् । 

यसरी विश्वव्यापी महामरीकोरुपमा रहेको कोरोना भाइरसको संक्रमणले उत्पन्न गराएको परिस्थितिलाई आफ्नो सत्ता बलियो बनाउने अवसरकारुपमा उपभोग गर्ने ओली मात्रै होइनन् । यसबिच ठुला साना धेरै मुलुकका सरकार प्रमुखले नेपालमा केपी ओलीले झैँ गलत लाभ उठाइरहेका छन् । 

आउनुस् चर्चा गरौँ, ओली लगायत अन्य केही यस्ता नेताहरूको जसले विश्वव्यापी मानवीय संकटलाई व्यक्तिगत सङ्कट मोचनको उपयुक्त अवसर बनाएः

नेपालका ओली
नेपालका प्रधानमन्त्री केपी ओली देशमा कोरोना संक्रमण देखिनु अघि देखि नै आलोचित थिए । उनी नेतृत्वको सरकारमा रहेका अधिकासं मन्त्रीहरुको कार्य क्षमता, उनका सचिवालयमा रहेका सहयोगीहरूको कार्य शैली र स्वयम् प्रधानमन्त्रीका अलोकतान्त्रिक वचन र व्यवहारले ओली सरकारलाई निकै अलोकप्रिय बनाइरहेका थियो । 

त्यो अलोकप्रियता कोरोना सङ्कट पछि विद्रोहमा रूपान्तरित हुने र त्यसले आफूलाई सत्ताच्यूत गराउने सहज अनुमान लगाएका ओली अधिनायकवादी अभ्यास गर्दै आफूलाई टिकाइराख्ने योजनामा अहिले प्रधानमन्त्री ओली जे पनि गर्न तयार बनेका विश्लेषण गरिदैँछ । 

हंगेरीका भिक्टर ओर्वान 
हंगेरीका शक्तिशाली प्रधानमन्त्री भिक्टर ओर्वानले कोरोना संकटलाई आफूलाई थप बलियो बनाउने अवसरकारुपमा प्रयोग गरेका छन् । राज्यमा एकता कायम गर्नुको साटो उनले त्यहाँ खतरनाक अवस्थाको घोषणा गरेका छन् । सरकारलाई कोरोना विरुद्ध लड्न पर्याप्त समय चाँहिने भन्दै उनले आफ्नो पक्षमा रहेको संसदीय बहुमतलाई दुरुपयोग गरे । 

अहिले त्यहाँको सांसदले उनले चाहेको दिनसम्म सरकार चलाइराख्न पाउने अधिकार दिएको छ । अब त्यहाँ उनी त्यो मितिसम्म सरकार चलाउन सक्छन् जहिलेसम्म उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न मन लाग्छ । हंगेरीमा अहिले एकातिर सांसदले ‘आत्महत्या’ गरेकोरुपमा विश्लेषण गरिदैछ भने कतिपयले हंगेरीमा लोकतन्त्रको अन्त्य भएको भनिरहेका छन् । 

टर्कीका अर्दोआनले छोपेको मौका   
टर्कीका चर्चित नेता रेचेप तैयब अर्दोआनले पनि कोरोनाको महामारीलाई अवसरकोरुपमा मौका छोपे । त्यसो त नेपालका केपी ओली झैँ त्यहाँ अर्दोआन पनि आरामदायी बहुमतमा छन् । फेरि पहिला नै सरकार प्रमुखसँग यति धेरै शक्ति केन्द्रिकित छ की थप शक्तिको जरुरत उनलाई छैन । 

तर, कोरोना संकटलाई उनले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने उपयुक्त समयकारुपमा प्रयोग गरेका छन् । कोरोनाले अर्थतन्त्रमा पर्ने असरलाई रोक्न भन्दै ल्याइएको एउटा कानुनमा सामाजिक सञ्जाललाई समेत सरकारी नियन्त्रण र सेन्सर सिपको अधिकार भित्र ल्याइएको छ । त्यहाँ अहिले कोभिड १९ को संकटका बेला मानिसलाई भड्काउने पोस्ट गरेको भन्दै सयौँ मानिसहरूलाई पक्राउ गरिएको छ । 

त्यहाँका स्वास्थ्यकर्मीहरुले नै अहिले तथ्य लुकाएको र एक पक्षिय सूचना जारी गरिएको भन्दै असन्तुष्ट प्रकट गरिरहेका छन् । राष्ट्रपति अर्दोआनले कोरोनाले उब्जाएको संकटलाई विपक्षीमाथि दहन गर्ने सो अवसरको रूपमा लिएको र संकटलाई गलतरुपमा उपयोग गरिएको आरोप उनी माथि छ । 

कोरोनाले बढाएको पुटिनको महत्वकांक्षा
विगत दुई दशकदेखि लगातार सत्तामा रहेका रसियन राष्ट्रपति भ्लादिमीर पुटिनले कोरोनाको संकटलाई फेरि दुई पटका लागि रुसको राष्ट्रपति बनिरहने अवस्था निर्माणको अवसरकारुपमा लिएका छन् । अप्रिल २२ तारिक त्यहाँ चुनाव हुनु पर्थ्यो । तर, कोरोनाका कारण त्यो सर्‍यो । अब रसियामा कहिले चुनाव हुन्छ ? त्यो अहिले भन्न सकिँदैन ।

यसको अर्थ पुटिन लामो समयसम्म त्यहाँको सत्तामा रहनेछन् । रुसमा एक प्रकारले संवैधानिक तख्ता पलट नै भएको टिप्पणी विपक्षीहरूले गरिरहेका छन् । तर, त्यसले पुटिनलाई छुने वाला छैन । किनकि कोरोनाका कारण अब सिर्जना हुने आर्थिक मन्दीलाई सम्बोधन नगरीकन अब त्यहाँ चुनावको कुरा सान्दर्भिक छैन भनेर पुटिनले त्यसलाई पछि ढल्न सक्छन् । यसरी पुटिनले कोरोनाका कारण आफ्नो राजनीति लाभ लिइरहेका छन् । 

पोल्यान्डको उल्टो तरिका
विश्वभरका मुलुकहरूले कोरोना महामरीसंग जुध्न लकडाउनको विधिलाई सर्वाधिक प्रभावकारी मानिरहँदा पोल्यान्डमा भने खासै कुनै कडाइ गरिएको र्छैन । त्यहाँका राष्ट्रपति एन्ड्रजेज डुँडालाई के लागिरहेको छ भने लकडाउन नगर्ने उनको यो निर्णयले त्यहाँका नागरिक धेरै खुसी छन् र आफ्नो लोकप्रियता बढिरहेको छ । 

त्यसैले आगामी मे महिनामा हुने राष्ट्रपति पदको चुनाव त्यहाँ नरोकिने भएको छ । तर, आलोचकहरू भने चुनावी लाभ हानीलाई हेरेर यसरी मानिसको जीवनमाथि नै खेलवाड गरिएको भन्दै उनी विरुद्ध बोलिरहेका छन् । विपक्षीहरुको भनाइ के छ भने प्राकृतिक विपत्ति भन्दै चुनाव पर सार्न सकिन्थ्यो । तर त्यसो गरिएन किनकि लकडाउन नगरेका कारण खुसी भएका जनताको मत पाएर फेरि अर्को कार्यकालको लागि राष्ट्रपति बन्न डुँडाले यो अवसरलाई प्रयोग गरेका हुन् । 
  


 

प्रतिक्रिया दिनुहोस