काठमाडौं । प्रतिपक्षी दलका युवा संगठनले छापामार शैलीमा राजनितिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी राजनैतिक द्वन्द्वको वातावरण सिर्जना गरेको ठहर गरेका छन् ।
विहीबार नेपाल तरुण दल का जितजंग बस्नेत, समाजवादी युवा संघका जितेन्द्रसिंह महरा, साझा युवा संगठनका अब्दुल मिया, राष्ट्रिय युवा संगठनका मुकेश झा र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनका फिडिन्द्र लोहनीले सयुक्त रुपमा विज्ञप्ति जारी गरी अध्यादेश प्रकरणबाट सरकारले राज्यमा सर्वसत्तावाद लाद्ने अभिप्राय राखेको ठहर गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को महामारीले संम्पुर्ण मुलुक त्राहीमाम छ। यस्तो अवस्थामा सम्पूर्ण राजनीतीक दल र राज्यका अंगहरु एकजुट भएर कोरोना महामारीको विरुद्धमा लड्नुपर्ने समय आएको कुरा सर्वविदित नै छ। तर मिति २०७७ साल वैशाख ८ गतेका दिन केपी ओली सरकारले राजनितिक अस्थिरता निम्याउने उदेश्यको साथ ‘राजनितिक दल सम्बन्धी अध्यादेश २०७७’ तथा व्यक्तिवादी अधिनायकत्व स्थापित गर्ने गरी ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७’ जारी गरेको छ। एकलौटी र छापामार शैलीमा कानुन र संविधानको संशोधन गरेर सरकारले मुलुकमा राजनैतिक द्वन्द्वको वातावरण सिर्जना गरेको छ। र, यस प्रकरणमार्फत सरकारले राज्यमा सर्वसत्तावाद लाद्ने अभिप्राय रहेको हाम्रो ठहर छ ।’
यसबाट उत्पन्न हुने राजनैतिक अस्थिरता र दलीय द्वन्दले आजको संकटलाई विषयान्तर समेत गरिदिने खतरा उत्पन्न भएको उनीहरुको भनाइ छ । केपी ओली सरकारले आफ्नो व्यक्तिवादी र अधिनायकवादी सोचलाई स्थापित गर्न जारी अध्यादेशको दुरुपयोग गर्ने कुरा प्रष्टै रहेको उनीहरुको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसले एकातिर संविधानको मुल मर्म र भावनामा प्रहार गरेको छ भने अर्कोतिर लोकतान्त्रिक प्रणालीको समेत धज्जी उडाएको छ। जारी अध्यादेशमार्फत गरिएको कानुन र संविधान संशोधनले संविधान निर्माणको लागि नेपाली नागरिकले गरेको संघर्ष र बलीदानको समेत उपहास गरेको छ।’
अध्यादेश प्रकरणले प्रधानमन्त्रीको नियतमा आशंका उत्पन्न हुनका साथै राष्ट्रपतिको भूमिकालाई समेत विवादमा तानेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री आफ्नो पार्टीभित्र अल्पमतमा परेको भयलाई मुलुक नै संकटमा पर्नेगरी अध्यादेश ल्याउनुले ओलीले प्रधानमन्त्री पदको लागि संविधान, शान्ति सुरक्षा, नागरिक स्वास्थ्य र जनजीवनको कुनै परवाह गर्दैनन् भन्ने कुरा थप प्रमाणित भएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस