
काठमाडौँ । सारा नेपालीलाई अचम्ममा पार्दै दुई वटा अध्यादेश जारी गर्ने प्रधानमन्त्री केपी ओलीले बुधवार बालुवाटारमा बोलाएर आफ्नै दलका सांसदको हुर्मत लिए । त्यहाँ पुगेका सांसदहरू ‘कुन जुनीमा ऋण खाइएको रहेछ कुन्नि’ भन्न बाध्य हुने गरी छ घण्टा त्यहाँ अलपत्र परेका थिए ।
बुधवार दिउँसो १ बजे छलफलको लागी भन्दै बाग्मती प्रदेशका सांसदलाई बालुवाटार बोलाइएको थियो । उनीहरू ठिक समयमा त्यहाँ पुगे अनि सुरु भयो पट्यारलाग्दो दिनचर्या । समय मै बालुवाटार पुगेका एक सांसदले भने, ‘भित्र त छिरियो अनि परियो समस्यामा । कोहीसँग गफिन पनि नमिल्ने मुखमा मास्क छ । प्रधानमन्त्रीको दर्शन मिल्ने छाँट छैन ।’
हुन पनि कम्पाउन्ड बाहिर लकडाउनको कारण पुरै सन्नाटा । भित्रै भए पनि कोरोना प्रकोपबाट जोगिन सामाजिक दुरी कायम गर्ने पर्यो । मुखमा मास्क लगाएकाले स्वतन्त्र ढङ्गले आपसमा गफगाफ गर्न नसकिने वातावरण थिएन ।
यसो हुँदा पछिल्लो राजनीतिक घटनाक्रम र अध्यादेशबारे सरकारको धारणा सुनाउन बाग्मती प्रदेशबाट बोलाइएका नेकपाका सांसदहरू कम्पाउन्डभरि यत्रतत्र छरिए । एक घण्टाको लागि भनेर त्यहाँ पुगेका सांसदहरू छ घण्टा अलपत्र परे ।
सहभागी एक सांसदका अनुसार बुधवार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल भएको थियो । बाग्मतीका सांसदहरू दोस्रो टोलीको रूपमा त्यहाँ पुगेका थिए । तर, त्यसअघि बोलाइएको प्रदेश नम्बर ७ का सांसदहरूसँगको भेट दुई बजे मात्र सकियो ।
दोस्रो टोलीलाई दिउँसो एक बजेको लागि बोलाइए पनि प्रदेश ७ का सांसदसँगको भेटघाट पछि प्रधानमन्त्री ‘लन्च’ को लागि निवासतर्फ लागे । लन्चपछि सम्बोधन सुरु हुने आसमा रहेका सांसदहरूलाई त्यही बेला साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ताको पूर्वनिर्धारित समय रहेको जनाउ दिइयो ।
त्यसपछिको एक घण्टा लन्चमा बित्यो । अर्को एक घण्टा टेलिफोनमा । भेटघाट सुरु भएपछि साँढे दुई घण्टा अविरल, अथक प्रवचन आयो प्रधानमन्त्रीको । त्यसपछि अनि सामाजिक दुरी कायम राख्दै औपचारिक बिदाइ । हलबाट निस्कँदा ठ्याक्कै छ घण्टा खत्तम । न अध्यादेश ल्याउनु पर्नाको औचित्य वारे खुलासा भयो न दोहोरो सवाल जवाफ नै । न सुझाव, न दङ्ग दास हुनेखालको प्रभाव ! आखिर बुधवारको दिन नचाहिँदो गरी पट्यारलाग्दो भएको निष्कर्ष सहित सांसदहरू निवास फर्किए ।
स्रोतका अनुसार प्रदेश ७ का सांसदसँगको भेटमा प्रधानमन्त्रीले झन्डै साढे दुई घण्टा एकोहोरो आफ्ना कुरा राखे । हुन त विषयवस्तु पटक पटक नदोहोर्याएको भए सम्भवतः पैँतालिस मिनेटमा कुरो सकिन्थ्यो । तर, अध्यादेशको पृष्ठभूमि र आगामी परिदृश्य भन्दा पनि प्रधानमन्त्रीले विगतकै रेल, पानी जहाज, सुरुङ्गमार्गको कुरा गरे । यति धेरै काम गर्दा पनि कसैले राम्रो गरिस् भनी प्रशंसा नगरिदिएको गुनासो पोखे । यसरी बैठक तोकिएको समय नै एक घण्टा धकेलियो ।
सँगै बसेका प्रचण्ड भने पुरै समय मौन नै रहे । उनले कुनै प्रकारको टिप्पणी वा धारणा केही पनि राखेनन्। छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरूलाई बताएका थिए ।
यसैबिच, बुधवारबाट सुरु भएको नेकपा सांसदहरूसँग ओली र प्रचण्डको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित गरिएको हो । बुधवार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस