काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब मुलुकको ऋण मोचनको लागि अर्थमन्त्रीले गरे अन्तर्राष्ट्रिय दातृ निकायसँग आव्हान गरेका छन् । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रहरूका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारीसँग बिहीबार भएको भिडियो कन्फरेन्समा उनले सो माग राखेका हुन् ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले पारेको एवं पार्न सक्ने प्रभाव र सो लाई सम्बोधन गर्ने उपाय बारे भिडियो कन्फरेन्स मार्फत छलफल भएको हो। सो कन्फरेन्समा निजी क्षेत्रका प्रतिनिधि,अर्थशास्त्री एवम् विश्व स्वास्थ्य सङ्गठनका पदाधिकारी समेतको सहभागिता रहेको थियो ।
अर्थमन्त्रीले आफ्नो मन्तव्य दिने क्रममा कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभावबारे बताएका थिए । सो अवसरमा उनले कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरू तथा यस रोगको नियन्त्रणमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयास बारे जानकारी गराएका थिए।
अर्थमन्त्रीले के धनी के गरिब हामी सबै अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गर्दै भने, ‘कोभिड–१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसके सम्म सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्चले अर्थ राख्दैन ।’ त्यसैले सार्वजनिक स्रोत मानव कल्याणमा पुनर्प्राथिमिकीकरण र केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।
कोभिड –१९ ले हालसम्म पुर्याएको तथा थप पुर्याउन सक्ने आर्थिक क्षतिको पुनर्स्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय सङ्घ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा अर्थमन्त्रीले प्रस्तुत गरे । उनले कोभिड –१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको प्रसङ्ग उठाउनु हुँदै हामीले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको पनि उल्लेख गरे ।
अर्थमन्त्री खतिवडाले यो विश्वव्यापी सङ्कटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्नुहुँदै हालको सङ्कटलाई सामना गर्न ३ वटा सुझाव दिनु सो अवसरमा पेस गरे । पहिलो, सिमानाकामा हुने मानिसहरूको आवतजावत नियन्त्रण तथा आप्रवासी कामदारहरूको लागि आधारभूत सुविधा उपलब्ध गराउन क्रस बोर्डर र अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने । दोस्रो, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने । र, तेस्रो ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरूको वित्तीय क्षमता बढाउने ।
उक्त छलफलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य सङ्गठनका दक्षिणा – पूर्व एसिया निर्देशक पुनम खेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड –१९ को सङ्कटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस