
काठमाडौं । कोरोना आतंकले विश्व आत्तिएको बेला संक्रमण शुरु भएको देश चीनले नै खुसीको खबर सुनाएको छ । उसको दाबीअनुसार चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ ।
खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको हो ।
अघिल्लो हफ्ताबाट सो खोप मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ । सो कम्पनिले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर कुनै बाँदरमा कोरोना संक्रमण देखिएन ।
समाचारमा साइनोभ्याकका डाइरेक्टर मेंग विनिङलाई उदृत गर्दै लेखिएको छ, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो ।' उनले भनेका छन्, ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा हामीलाई पूरा विश्वास छ ।’
डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । ‘पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गरायौं । त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनायौं । त्यसलाई अर्को बाँदरमा प्रयोग गर्यौं,’ मेंगले भने, ‘यो तरिकाबाट बनाइएको खोप महँगो हुँदैन ।’
माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् । यस्तै पिट्सबर्ग युनिभर्सिटीका डगलस रिडले भनेका छन्, ‘यो तरिका राम्रो हो तर थोरै बाँदरहरुमा परीक्षण गरिएकाले यसमा पूरा विश्वास छैन ।’ साइनो भ्याकका वैज्ञानिकहरुका अनुसार बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीलाई मिसाइएको छ ।
यो खोप चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस