
काठमाडौं । अहिले दुःखदायी र दर्दनाक अवस्था छ । लकडाउन शुरु भएको १ महिना पुरा भएको छ । व्यवसाय ठप्प छ । लकडाउन लम्बिदा अर्थतन्त्र नै ठप्प भएको छ । धनीमानी मानिसले ६ महिना वर्षदिन खान सक्लान अर्थात खाद्यान्न सञ्चिति गर्लान् । तर, दैनिक ज्याला मजदुरी गर्नेले यसो गर्न सक्दैनन् । उनीहरूलाई बचाउन अहिले नै उचित कदम चालिनु पर्छ ।
उद्योगधन्दा तथा आर्थिक गतिविधि बन्द भएपनि सबैको आम्दानी मरेको छ । जबसम्म कोरोना भाइरसको भ्याक्सिन बन्दैन, तबसम्म यो अवस्था निरन्तर दर्दनाक नै भएर जान्छ । संसारका वैज्ञानिकले भ्याक्सिनको आविष्कार गरिदेउ भनेर भगवानसँग प्राथना गर्नुपर्ने समय आएको छ ।
अहिले ऋणीहरूले कर्जाको कम ब्याज गरिदेउ भनिरहेका छन् । अहिलेको अवस्थामा सित्तैमा पैसा दिएपनि काम छैन । पैसाले के गर्ने ? यो स्थिति कहिलेसम्म रहन्छ वा कतिसम्म लम्बिन्छ, यसको कुनै टुंगो छैन । त्यो अवधिमा उद्योगी व्यवसायीले आफ्नो किस्ता तथा ब्याज तिर्न सक्दैनन् ।
मानौैं, १ वर्ष लकडाउने हुने भयो रे । यहि अवधिमा एक ऋणीले बैंकमा एक लाख रुपैयाँ बुझाउनु पर्ने रहेछ । एक वर्ष मै आर्थिक अवस्था सुध्रियो भने त सजिलो भइहाल्यो । त्यो भएन भने के गर्ने ? कुनै उद्योगलाई यसको असर ५ वर्षसम्म रहन्छ, कुनैलाई ३ वर्ष र कुनैले १ वर्ष मै पनि रिकभरी गर्लान् । अहिलेको अवस्थाले पर्यटन उद्योगमा लामो समयसम्म असर पर्न सक्छ । यसका ३/४ वर्षसम्म नै असर पर्ला जस्तो लाग्छ ।
१ वर्षमा लाख रुपैयाँ तिर्नुपर्ने ऋणको पुनःतालिकीकरण गरेर ५ वर्षसम्म २०/२० हजारका दरले तिर्ने गरी मिलाइदिनुपर्छ । सरकार वा राष्ट्र बैंकले ऋणीसँग बसेर ऋणको पुनःसंरचना गर्न दियो भने यस्तो अवस्थामा बैंक र उद्यमी दुबै जोगिन्छन् । अहिलेको अवस्थामा हरेक उद्योग व्यवसाय तथा बैंक वित्तले लागत तथा खर्च त घटाउँनै पर्ने भएको छ । नत्र घर भाडा तिर्न तथा कर्मचारीको तलब समेत खुवाउन गाह्रो हुने अवस्था आएको छ । अहिलेको अवस्थामा यो क्षेत्र त्यो क्षेत्र भन्ने छैन, सबै क्षेत्र दुःखी छन् । यो अवस्थामा खर्च घटाउने तिर लाग्नु पर्छ ।
कर्जाहरूलाई पुनःसंरचना र पुनः तालिकीकरण गर्ने नीति ल्याइदियो भने अलि सहज हुन्छ । १ वर्षलाई धान्नको लागि कर्जाको रिस्याडुल र रिस्ट्रचरिङ गरिदिए राम्रो हुन्छ । अब असारसम्ममा पुँजीगत खर्च हुने अवस्था छैन । त्यो पुँजीगत खर्चलाई फ्रिज गर्नुको सट्टा तल्लो स्तरका दैनिक ज्याला मजदुरी गर्ने पीडितलाई परियोजना बनाएर राहत प्याकेज दिनुपर्छ । अर्को कुरा विभिन्न उद्योग व्यवसायलाई यहि पुँजीगत खर्चबाट निकालेर राहत प्याकेज पनि दिनुपर्ने अवस्था आएको छ । कहाँ कहाँ कुन कुन उद्योगलाई कसरी सहयोग गर्नुपर्छ सो सहयोग सरकारले गर्नुपर्छ ।
उद्योगी व्यवसायी र बैंकर्स भनेका एउटै सिक्काका दुई पाटा हुन् । यसले सबैलाई उत्तिकै हिट गर्छ । खाली हिट गर्ने तरिकामात्रै फरक हो । त्यसकारण हामीले सबैजना बाच्ने र विन विन सिचुएसनमा जानुपर्छ । उद्योगलाई बचाउन सके बैंक पनि बाच्छ । बैंक बचाउन सकियो भने उद्योग पनि चलायमान हुन्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय प्रतिवेदन ( फाइनान्सियल रिपोर्ट) रोकिएको छ । बैंक तथा वित्त संस्थाले विस्तारै प्रकाशित गर्दै जालान् । राष्ट्र बैंकले पनि असारमसान्तसम्म सुविधाहरू ल्याएको छ । एनएफआरएस अनुसार वित्तीय विवरण निकाल्नु पर्ने हुन्छ । यो प्रणालीले बैंकको नाफा बढेको देखिएपनि वितरण योग्य मुनाफा भने घट्ने पक्का भएको छ । यो प्रणाली अनुसार ब्याज नगद नआइकन एकाउन्टिङ गण्ना पर्दा आम्दानी देखाउन पाएपनि वितरण योग्य मुनाफा देखाउन पाइदैन ।
यस्तो अवस्थामा बैंकहरूले लाभांश बाडनै सक्दैनन् । वितरण योग्य मुनाफाबाट बैंकहरूले लाभांश बाड्ने हो । अब प्रकाशित हुने वित्तीय विवरणमा वितरण योग्य नाफा कति छ भनेर हेर्नुपर्छ । वितरण योग्य मुनाफा घट्ने मैले देखेको छु । नगद नआएपछि वितरण योग्य मुनाफा हुँदैन । यस वर्ष नगन्य बैंकले मात्रै लाभांश बाड्न सक्छन् । अधिकांश बैंकले सक्दैनन् । यसका कर्मचारीले तलब पाउनेदेखि निक्षेपकर्ताले ब्याज पनि पाउँछन् । तर, सेयर धनीले लाभांश भने पाउँदैनन् ।
के गर्दै छ सिटिजन बैंक
सिटिजन बैंकले निश्चित समय निरन्तर सेवा प्रदाननै गरिरहेको छ । बैकिङ सेवा अत्यावश्यक सेवा भएकाले यसलाई रोक्न मिल्दैन । सम्पूर्ण शाखाबाट सेवा दिन नसके पनि ग्राहकहरूलाई मर्का नपर्ने गरी सबै प्रदेशमा ११.०० बजेदेखि १.०० सम्मको सेवा उपलब्ध गराइ राखेका छौं ।
बाहिर निस्कनै नपाउने भएपछि मानिसहरू त्यसै पनि आउँदैनन् ।
तर, पनि पैसा ननिकाली नहुने छ भने आउनै पर्ने हुन्छ । कतिपयले एटीएम सेवाबाट सेवा लिइरहनु भएको छ । कतिपय अवस्थामा विदेशबाट पैसा आइरहेको हुन्छ । विभिन्न बैकिङ सेवा दिन पर्ने भएकोले दैनिक २ घण्टा बैकिङ सेवा सुचारु गरेका छौं । अहिले त ऋण तिर्नेलाई सुविधालाई चैत मसान्तलाई सारेर जेठमसान्त पुर्याइदिएको छ । छोटो अवधिको लागि त्यो समस्या टरेको छ । अब अर्को अवस्था सिर्जना भएको छ । जेठमा तिर्नुपर्ने पैसा असारमा तिर्नुपर्ने अहिलेदेखिको खापिएर जाँदा एक्कै पटक अझ तिर्न गाह्रो हुन्छ । चैत मसान्तसम्म तिर्नेलाई स्वागत र छुट पनि छ ।
बैंकमा कारोबार कम छ । कर्जा विस्तार भइरहेको छैन । निक्षेप पनि त्यति धेरै डिपोजिट हुँदैन । मार्केटिङ हुँदैन भने पछि अन्य कारोबार त हुने नै भएन । कसैले अलिअलि पैसा राख्न ल्यायो भने छुट्टै कुरा हो । अहिले बैंकमा आएको पैसा भनेको बैंकको प्रयासले भन्दा पनि जनताको आवश्यकताले डोराएर ल्याएको पैसा हो । बाहिर निस्कने अवस्था छैन ।
ऋणीहरूको दुःख दर्द हामीलाई थाहा छ । उहाँहरूलाई दुःख पर्दा त्यसको असर हामीलाई पनि पर्छ भन्ने हामीले बुझेका छौं । पहिला स्थितिको सुध्रियोस् । उद्यमी व्यवसायको हित हुँदा हाम्रो हित हुन्छ । हामी उद्योगी व्यवसायीको साझेदारी पार्टन हौं भन्ने सोचले नै हामीले काम गर्दै आएका छौं ।’
(भण्डारी सिटिजन बैंक सञ्चालक समितिका अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस