aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भूकम्पको पाँचौं स्मृतिः पुनर्निर्माणका सिकाइ संस्थागत गर्न जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
भूकम्पको पाँचौं स्मृतिः पुनर्निर्माणका सिकाइ संस्थागत गर्न जोड

काठमाडौं । गोरखा भूकम्पको पाँचौं स्मृति पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका बाँकी कामलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने र पुनर्निर्माणका सिकाइ संस्थागत गर्नेबारे भर्चुअल अन्तरक्रिया (वेबिनार) सम्पन्न गरेको छ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भएको अन्तरक्रिया प्राधिकरणका अधिकारीहरु, नेपालको पुनर्निर्माणमा संलग्न विभिन्न दातृ निकायका प्रतिनिधिहरु एवं पुनर्निर्माण विज्ञसहित ४५ जनाको सहभागिता थियो।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा प्राप्त अनुभवहरुलाई संस्थागत गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं तीनै तहका सरकारहरुसँग निकट भएर काम गरिरहेको जानकारी दिए। उनले कोभिड(१९ का कारण उत्पन्न परिस्थितिका कारण पुनर्निर्माणका कामहरु प्रभावित भएको उल्लेख गर्दै ऐनले दिएको सुविधाअनुसार समय थप गर्ने वा नगर्नेबारे छलफल भइरहेको बताए।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले सहभागीलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए। उनले पुनर्निर्माणको कार्यमा सघाउ पुर्‍याउने सरकारी निकाय, दातृ निकाय, विकास साझेदार, स्थानीय तह तथा लाभग्राही सबैलाई धन्यवाद दिए। साथै, पुनर्निर्माणका कार्यहरु तोकिएको समयमै सम्पन्न हुने उनले बताए।

प्राधिकरण कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले नेपालको पुनर्निर्माण कार्यक्रमको सार, बाँकी मुख्य विषयहरु एवं आगामी बाटोबारे सामग्री प्रस्तुत गरेका थिए। त्यसमाथि ६ जनाले टिप्पणी गरेका थिए। उनले घर निर्माणको समयसीमा, सहरी पुनर्निर्माण, सम्पदा पुनर्निर्माण एवं प्राधिकरणद्वारा तयार भएका विभिन्न गुरुयोजना कार्यान्वयनजस्ता विषयहरु उल्लेख गरे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले बनाएका नियमावली, निर्देशिक अन्य अभ्यास आगामी दिनमा अन्य विपद्हरुको व्यवस्थापनमा उपयोगी हुने धारणा राख्दै सिकाइहरु संस्थागत गर्न पुनर्निर्माण प्राधिकरणसँग जोडिएर काम गरिरहेको बताए।

अन्तरक्रियामा विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अक्बर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० का सहायक आवासीय प्रतिनिधि विजय सिंह, अमेरिकी विकास सहयोग नियोग युसएड नेपालका प्रतिनिधि एन्ड्रयु गोल्डा, भूकम्प प्रविधि राष्ट्रिय समाजका रणनीति सल्लाहकार आमोदमणि दीक्षित र पत्रकार कनकमणि दिक्षितले टिप्पणी गरेका थिए।

उनीहरुले विविध प्रतिकूलताका बाबजुद पुनर्निर्माणमा प्राप्त उपलब्धि उल्लेखनीय रहेको धारणा राख्दै प्राप्त सिकाइहरुको संस्थागत स्मरण, अभिलेखीकरण तथा हस्तान्तरणमा ध्यान दिन सुझाव दिए। पुनर्निर्माणको समग्र प्रक्रियाको मूल परिणाम उत्थानशील समुदाय निर्माण भएकोले त्यो अनुभव ७७ वटै जिल्लामा लैजानुपर्नेमा उनीहरुको जोड थियो।

प्रतिक्रिया दिनुहोस