aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१ खर्ब १३ अर्ब ६२ करोड लगानी रहेको पर्यटन क्षेत्रले २० अर्बको राहत माग्यो

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १३ बैशाख २०७७
१ खर्ब १३ अर्ब ६२ करोड  लगानी रहेको पर्यटन क्षेत्रले २० अर्बको राहत माग्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार हाल पर्यटन क्षेत्रमा करिब सवा खर्ब रुपैयाँ लगानी छ। पर्यटन क्षेत्रमा आबद्घ संस्थाहरूको समष्टिगत तथ्यांक संकलनका लागि बोर्डले गरेको अनलाइन सर्वेक्षणका अनुसार यस क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ।

बोर्डले गरेको २ हप्ता लामो सर्वेक्षणमा ७८७ वटा फर्मले भरेको सूचनाको आधारमा यो तथ्यांक निकालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले जानकारी दिए। जसमा टुरिस्ट भेइकल ९५, ट्रेकिङ एन्ड क्लाइम्बिङ १४४, ट्राभलरटुर १४५, रेष्टुराँ ८६, र्‍याफटिङ १२, अन्य २६, होटल २४६ र एयरलाइन्स २३ कम्पनीले सहभागिता जनाएका थिए।

तर, उक्त तथ्यांकले पर्यटन क्षेत्रमा आबद्घ १५ देखि २० प्रतिशत संस्थाको मात्र प्रतिनिधित्व गर्ने बताइएको छ। बोर्डले सर्वेक्षण सुरु गर्दा २० हजार फर्मले तथ्यांक भर्ने अपेक्षा गरेको थियो। सोचेजस्तो उपलब्धी नभए पनि पर्यटन क्षेत्रको बारेमा एउटा आधार तय गर्न यो तथ्यांकले मद्दत गर्ने कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए।

तथ्यांकअनुसार यी संस्थाको कुल बैंक ऋण ५३ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ छ भने प्रत्येक महिना कुल करिब ८१ करोड ८८ लाख रुपैयाँ ईएमआई तिनुपर्ने देखिएको छ। यी संस्थाले मासिक भाडा वापत १२ करोड २२ लाख रुपैयाँ बुझाउने गरेका छन्।

कोभिड १९ को कहर र लकडाउनका कारण लगानी नै जोखिममा परेको र सरकारले राहत दिनुपर्ने पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न यो तथ्यांकलाई आधार मानिने रेग्मीले बताए। तथ्यांक संकलनका क्रममा संस्थाहरूले तलब कटौती, बेतलबी विदा, नगद सहायता, ईएमआई तिर्ने मिति पर सार्र्ने, व्याज अनुदानलगायत राहतका लागि माग गरेका छन्।

सबैभन्दा धेरै २९७ वटा संस्थाले व्याज अनुदानका लागि सरकारसँग माग गरेका छन् भने ईएमआई तिर्ने मिति पर सार्नका लागि १६८ वटा संस्थाले माग गरेका छन्। सहुलियतपूर्ण ऋण, कर अनुदान, भाडामा अनुदान दिनका लागि सरकारसँग उनीहरूको आग्रह छ।

व्यवसायीको लगानी र मागका आधारमा बोर्डले सरकारसँग करिब २० अर्ब रुपैयाँ राहत माग गरेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए। कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई व्युताउन यो रकम पर्याप्त हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस