
काठमाडौं । नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा गरिने अप्टिकल फाइबर विस्तारको काम सोमबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छी गाउँपालिका मासटारबाट उक्त परियोजनाको उद्घाटन गरेका छन्। सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट पनि एकै साथ फाइबर विस्तारको काम सुरु भएको हो।
मध्यपहाडी लोकमार्गअन्तर्गत १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको थियो। ओलीले समृद्ध नेपालको यात्रामा नेपालले ठूलो पाइला चालेको बताए। अहिलेको सरकार सूचनाप्रविधिमैत्री सरकार भएको र विकासको गतिमा यो सरकारले हरेक दिन एक पाइला चालिरहेको उनले बताए। उनले भने, ‘आज अप्टिकल फाइबर शिलान्यास गरेर विकासको गतिमा ठूलो पाइला चालियो, समृद्ध नेपाल र सुखी नेपाली अभियानका लागि यो एउटा ठूलो फड्को हो।’
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशका आधाभन्दा बढी जनता इन्टरनेटको पहुँचबाट टाढा भएकाले इन्टरनेटसँगको पहुँचसँग जोड्न ‘ब्याकबोन’ परियोजना सञ्चालन गरिएको बताए। सूचना प्रविधिले जनताको जीवनस्तर नै परिवर्तन हुने उनको भनाइ छ।
अप्टिकल फाइबर बिच्छ्याउने कामको धादिङमा शिलान्यास गर्दै प्रधाननमन्त्री केपी शर्मा ओली। फोटोः मनिष दुवाडीरअन्नपूर्ण
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभित्रै पूरा हुने बताए। उनले सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ अप्किटल बिछ्याउने परियोजना सुरुवात गरिएको जानकारी दिए।
सूचना प्रविधिलाई जोड्न टेलिकमले मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार तीन सय ७६ किलोमिटर फाइबर बिछ्याउनेछ। यसरी बिछ्याइने फाइबर टेलिकमले मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म पुर्याउने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताएका छन्।
अधिकारीका अनुसार यस परियोजनाका लागि प्राधिकरणले ४ अर्ब ८७ करोड अनुदान रकम उपलब्ध गराउने गरी नेपाल टेलिकमसँग २०७३ असोजमा सम्झौता भएको थियो। यसमा प्रदेश १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गर्नुपर्नेछ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याइनेछ। यसमा कूल २ हजार ३ सय ७६ किलोमिटर फाइबर नेटवर्कले विस्तार हुनेछ। यसका लागि टेलिकमले विभिन्न पाँच कम्पनीसँग सम्झौता गरेको छ।
विभिन्न चरणमा भएको सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स र प्रदेश २ को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फ्युलको ज्वाइन्ट भेन्चरले जिम्मा पाएका छन्। प्रदेश ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई ९चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल०ले गर्नेछ। डीडब्लूडीएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआई र राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता भएको छ। अन्नपूर्ण पोस्टबाट ।
प्रतिक्रिया दिनुहोस