aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
बर्डफ्लु परीक्षण  गर्न एक सय ७२ को  नमुना जापान पठाइयो

बर्डफ्लु परीक्षण  गर्न एक सय ७२ को  नमुना जापान पठाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ जेठ २०७६
बर्डफ्लु परीक्षण  गर्न एक सय ७२ को  नमुना जापान पठाइयो

काठमाडौं । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो । 

सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने । महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन । 

युवक बिरामी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरिएको छ । जसमा उनको परिवार र आफन्त सातजना छन् भने उनको उपचारमा संलग्न अस्पतालका एक सय ६५ जना छन् । चिकित्सक, नर्स र अन्य कर्मचारीको पनि नमुना संकलन गरिएको महाशाखाले जानकारी दिएको छ । मृतक युवकको काठमाडौंका दुई अस्पतालमा उपचार गरिएको थियो । अस्पताल र मृतकको परिवारको अनुरोधमा उपचार गरिएका अस्पतालको नाम खुलाइएको छैन । 

एक सय ७२ जनामध्ये कसैमा पनि शंकास्पद लक्षण भने देखिएको छैन । यसबारे ३५ जनाको टोलीले अनुसन्धान गरेको थियो । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया हेर्ने टोली र पशुपक्षी मन्त्रालयको टोली सम्मिलित थियो । अनुसन्धानकर्ताका अनुसार जापानको ल्याबले पहिला पनि परीक्षण गरेका कारण सोही ठाउँमा नमुना पठाइएको हो । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस