aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘बाहिरबाट आउनेलाई क्वारेन्टाइन र आइसोलेशन नै सुरक्षित’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
‘बाहिरबाट आउनेलाई क्वारेन्टाइन र आइसोलेशन नै सुरक्षित’

दाङ । वैदेशिक रोजगारीबाट फर्किएका तुलसीपुर उपमहानगरपालिका – ६ का ३२ वर्षीय ईश्वरी गैरे दुई हप्तासम्म क्वारेन्टाइनमा बसे । उनलाई स्वाब परीक्षणका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । संयुक्त अरब इमिरेट्सबाट फर्किनुभएका गैरेलाई कोभिड–१९  रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरियो ।

त्यसबीचमा आइसोलेशन र क्वारेन्टाइनमा बस्दा सुरक्षित महसुस गरेको गैरेलेलाई प्रतिक्रिया दिए । “म दुई हप्ता क्वारेन्टाइनमा, दुई दिन बेलझुण्डी अस्पतालमा बस्दा  सुरक्षित महसुस भयो ।” कोरोना रिपोर्ट नेगेटिभ खुशी हुनुभएका गैरे आइसोलेशन र क्वारेन्टाइनको सेवाबाट सन्तुष्ट भएको बताए । 

आइसोलेशन र क्वारेन्टाइनमा साँझबिहान दुईपटक खाना र दिउँसो खाजा दिइन्थ्यो  । युएइको होटलमा चौकीदार गैरे विदेशमा कोरोना भाइरसको त्रास भएपछि स्वदेश फर्कएको थियो ।  

गत वर्ष मात्रै रोजगारीका सिलसिलामा जानुभएका गैरे चैत ९ गते घर फर्किएको हो । घर फर्किएपछि उनी दुई दिन होम क्वारेन्टाइनमा बसेर तुलसीपुरको क्वारेन्टाइनमा गएका हुन् । दुई हप्तासम्म क्वारेन्टाइनमा बसेपछि उनलाई स्वाब परीक्षणका लागि बेलझुण्डीको कोरोना अस्पतालमा लगिएको थियो ।

अस्पताल गएको तीन दिनमा चैत २९ गते उहाँको रिपोर्ट आएको थियो । जहाजमा सेनिटाइजर र मास्कको प्रयोग गरेर यात्रा गरेको भए पनि संक्रमणको त्रासले स्वाब परीक्षणका लागि अस्पताल जानुभएका उनले भने, “यदि म संक्रमित भएर आएको भए मेरै कारणले धेरै संक्रमित हुन्थे, त्यसैले म आफैँ सावधानी अपनाएर स्वाब परीक्षण गराउन गएँ, अहिले ढुक्क भएको छु ।” 

युएईको दुबईबाट आउनुभएका तुलसीपुर– ५ का २३ वर्षीय नरेश विक पनि रक्षाचौर क्वारेन्टाइनमा बस्दा कुनै असहज  नभएको बताउँछन्  ।

समयसमयमा स्वास्थ्यकर्मीले निगरानी  गर्ने र  इन्टरनेट सेवाको सुविधा हुँदा दिन कटाउन सहज भएको उनको भनाइ छ ।

“समय–समयमा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नुहुन्थ्यो, खाना, खाजा पनि समयमै आउँथ्यो, त्यहाँ बस्दासम्म कुनै असहज महसुस भएन”, उनले भने । स्वास्थ्यकर्मी, चिकित्सक तथा खाना पकाउनेदेखि पु¥याउन आउनेहरुको व्यवहारले आत्मबल बढाएको उनले अनुभव सुनाए । स्वाब परीक्षणका लागि क्वारेन्टाइनबाट कोरोना अस्पताल बेलझुण्डी लगिएकामा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको छ । 

तीन वर्षदेखि दुबईमा काम गर्दै आएका विक गत चैत ६ गते नेपाल एयरलाइन्सको जहाजमा काठमाडौँ आएको थियो । त्यहाँ कोरोनाको त्रास बढ्न थालेपछि तीन महिनाको छुट्टी लिएर घरमा आएको उनले बताए ।

अब स्वदेशमै आयमूलक काम गर्ने उनको सोच छ । अहिले विश्वभरि कोरोना संक्रमण बढिरहेकाले भारतलगायत तेस्रो मुलुकबाट स्वदेश फर्किने नागरिक क्वारेन्टाइनमै बस्नुपर्ने उहाँको भनाइ छ ।

अहिले जिल्लामा ७१ जनाको स्वाब परीक्षण गरिएको छ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ६१ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको स्वाब परीक्षण गरिएको  जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति कमल चन्दले बताउनुभयो । उनीहरु सबैलाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । 

जिल्लामा कोरोना अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा कोरोनाको आशङ्का लागेका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिएको छ । 

यसैबीच दाङका स्थानीय तहले सञ्चालन गरेका क्वारेनटाइनमा आज १०३ जना रहेको सम्बन्धित पालिकाले जनाएका छन् । अहिलेसम्म ती पालिकाको एकान्तबासमा बस्दै आएका ७८ जनाको ¥यापिड  डायग्नोष्टिक टेष्ट (आरडिटी)   गरिएको छ ।  उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यहाँका स्थानीय तहले  भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेन्टाइन केन्द्र निर्माण गरेका छन । जिल्ला आपत्कालीन दाङको तथ्याङ्ककानुसार चैत शुरु भएदेखि हालसम्म  तीन हजार ६३२ जना भारतलगायत अन्य मुलुकबाट भित्रिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस