
एजेन्सी । विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ ।
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो ।
अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ ।
चिनियाँ सरकारकी सञ्चारमाध्यममा अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो ।
त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन् ।
पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन् ।
संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन् ।
ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ ।
गृहमन्त्री प्रिती पटेलले त्यो सङ्ख्यालाई "दुःखद र नराम्रो कोसेढुङ्गा" को संज्ञा दिएकी छन् ।
यूकेको दैनिक तथ्याङ्कमा घर र स्याहार केन्द्रमा हुने मृत्युका घटनालाई नसमेट्ने भएकोले कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढी हुने निश्चितप्रायः छ ।
स्याहार केन्द्रमा हुने मृत्युलाई पनि समेट्ने गरेको फ्रान्सले शनिवार मृतकको सङ्ख्या ३६९ ले बढेको बताए ।
मार्च महिनाको शुरूयता फ्रान्समा कोरोनाभाइरसका कारण २२,६१४ जनाको ज्यान गइसकेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या घट्दो क्रममा छ र अस्पतालका सघन उपचार कक्षमा भर्नाहरूको सङ्ख्या लगातार १७ औँ दिन घट्दो क्रममा देखिएको छ ।
पछिल्ला विकासक्रममाः
यसै हप्ताको शुरूतिर डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका थिए ।
पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको पनि केही देशमा यो बल्ल शुरू हुने अवस्थामा रहेको उनले बताएका थिए।
उनले भने, "केही गल्ती नगरौँ- हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।"
प्रतिक्रिया दिनुहोस