aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

उत्तर कोरियाली नेता किमको मृत्यु भएकै हाे त ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
उत्तर कोरियाली नेता किमको मृत्यु भएकै हाे त ?

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भयो । उनको स्वास्थ्य अवस्थाका विषयलाई लिए सामाजिक सञ्जालमा अहिले दुईखाले समाचार भाइरल भइरहेका छन् । केहिले उनको उपचार भइरहेको र केहिले उनको मृत्यु भएको भनेपछि समाचारहरु एकाएक भाइरल भएका छन् ।

हङकङको एक च्यानलले ३६ वर्षे उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको समाचार प्रसारण गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तर, दक्षिण कोरियाको एक मिडिया रिपोर्टअनुसार हार्ट सर्जरीपछि किम स्वस्थ छन् । उनी एक रिसोर्टमा आराम गरिरहेका छन् । रिसोर्टमा घुमफिर समेत गरिरहेका छन् । चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समचार आइरहेका छन् ।

चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ । चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताएका छन् ‘किम जोङलाई केही महिनादेखि मुटुको समस्या देखिएको थियो । केही दिनअघि उनी रिङ्गटा (चक्कर) लागेर ढलेका थिए ।’ त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको एक सर्जरी भइसकेको बताइएको छ । अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ ।

दक्षिण कोरिया र चीनका अधिकारीहरुले किमको स्वास्थ्य रिकभर भइनसकेको बताएका छन् । उनीहरुका अनुसार, ‘सर्जरीपछि किमको स्वास्थ्य थप गम्भीर भएको छ ।’

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए । किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन ।

यसैबिच चीनले विशेष स्वास्थ्य टोली त्यता तर्फ पठाएकाे समाचार बाहिरिएपछि उत्सुकता थपिएको हो । 

अन्तराष्टिय सञ्चार माध्यम रोयटर्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार त्यसतर्फ गएको जनाएकाे थियाे ।

तर सो कुराको पुष्टि भने हुन सकेको छैन । समाचारका अनुसार चिनियाँ विदेशमन्त्रीले यसबारे बोल्न इन्कार गरेका छन् । 

एक उत्तर कोरियाली अनलाईनका अनुसार उनी बिस्तारै निको हुन थालेका छन् । तर कतिपय अन्तरराष्ट्रिय सञ्चार माध्यमले भने उनी चिन्ताजनक अवस्थामा रहेको समाचार सार्वजनिक गरिरहेका छन् ।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उनी सार्वजनिक रूपमा देखिने बताएका छन् । तर उनको स्वास्थ्य स्थिति र चिनियाँ संलग्नताका बारे भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ । 

अत्यधिक धुम्रपान, मोटोपना र धेरै काम गर्ने बानीका कारण उनको मुटुमा समस्या देखिएको खबर केही दिनअघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस